समाचार

संविधान दिवस : विशिष्टलाई नै बालमतलव !

काठमाडौं– सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाउँदै छ । तर, सरकारले यस अघि नै धुमधामसाथ दिवस मनाउने घोषणा गरेर औपचारिक कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको भए पनि कार्यक्रममा केही विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला पुगेका छन् । संविधान दिवसको तेस्रो दिनको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित हुनेछन् । उनी ३ असोजमा टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा सहभागी भई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् ।

सभामुख ओनसरी घर्तीसमेत आइतबार कार्यक्रममा सहभागी भएपछि अन्य दुई दिनका औपचारिक कार्यक्रममा देखिने छैनन् । राष्ट्रपति र प्रधानन्यायाधीश भने तीन दिनकै औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । संविधान दिवसका अवसरमा संसद् सचिवालयले आइतबार विशेष कार्यक्रमको आयोजना गर्दैछ । 

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा संसद् सचिवालयले संविधान दिवसलाई विशेष दिवसका रूपमा मनाउन लागेको हो । संविधान घोषणा भएको दिनको अघिल्लो दिन संसद् सचिवालयले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा करिब २५ सय मानिसलाई निमन्त्रणा गरिएको छ । सो कार्यक्रममा सभामुख ओनसरी घर्तीले संक्षिप्त मन्तव्य दिने कार्यक्रम छ ।

कार्यक्रममा सहभागीलाई दिउँसो ३ बजेभित्र संसद् भवन बानेश्वरमा उपस्थित भइसक्न सचिवालयले आग्रह गरेको छ । सभामुखले संक्षिप्त सम्बोधन गरेपछि चियापान कार्याक्रमको आयोजना गर्ने गरी कार्यक्रमको तयारी सचिवालयले गरेको छ ।

सभामखु र संसद्का महासचिव सो कार्यक्रमपछि साताव्यापी चीन भ्रमणमा जान लागेकाले संविधान घोषणा भएको अघिल्लो दिन नै सचिवालयले कार्यक्रम राखेको स्रोतले बतायो ।

२ असाेज, २०७३ ।