समाचार

प्रचण्ड र मोदीबीच भेटवार्ता, तीन सम्झौतामा हस्ताक्षर

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।  भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा भएको भेटवार्तामा उनीहरुबीच दुर्इ देशबीचको आपसी सहयोग आदान प्रदान, सम्बन्ध सुधार लगायतका विषयमा छलफल भएको वताइएको छ। 

मोदी र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएपछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा दुर्इ देशका प्रतिनिधिमण्डलबीच संयुक्त छलफल भएको थियो। हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका उच्च अधिकारीहरूले विभिन्न समझदारी पत्रमा हस्ताक्षर गरिएकाे छ । 

तीन सम्झौतामा हस्ताक्षर

दुवै देशका प्रधानमन्त्रीले पत्रकारहरुलाई सम्बोधन गरेका छन्। हैदरावाद हाउसमा दुई देशबीच सहमति पत्रमा हस्ताक्षर भएपछि हैदरावाद हाउसमै प्रधानमन्त्री दाहाल तथा मोदीले संयुक्त रुपमा पत्रकारहरुलाई सम्बोधन गरेका थिए। 

मोदीले नेपालमा समयभित्रै परियोजना सम्पन्न गर्न आफूले मोनिटर गर्ने जनाएका छन्। नेपालको विकास र लोकतन्त्रको सुदृढीकरणमा भारतको निरन्तर सहयोग रहने पनि उनले बताए। शताब्दीयौँ पुरानो सम्बन्धलाई आजको छलफलले अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले शान्ति, स्थायित्व र प्रगति नेपाल र भारतको संयुक्त लक्ष्य भएको कुरामा जोड दिएका थिए। प्रधानमन्त्री दाहालले पनि नेपाल र भारतको सम्बन्ध विशेष रहेको भन्दै समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता दिएर आफ्नो सम्बोधन टुंग्याएका थिए।

३१ भदाै, २०७३ ।