समाचार

प्रधानमन्त्री प्रचण्ड भेटघाटमा व्यस्त, आज मोदीसँग भेटवार्ता

काठमाडौ, भदौ– चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । विहीबार भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आज विहानैबाट रातिसम्म भेटवार्तालाई  गर्नुहुनेछ । विहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले गार्ड अफ अनर दिएसँगै औपचारिक कार्यक्रम शुरु हुनेछ । सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् । मोदीले नै प्रचण्डलाई राष्ट्रपति भवनमा स्वागत गर्ने कार्यक्रम छ । त्यस्तै प्रधामन्त्री प्रचण्डले विहान ९ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा गएर दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा बरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दिउँसो हैदराबाद हाउसको डेकेन स्विटमा वार्ता हुनेछ । भातरीतय विदेश मन्त्रालयको कार्यतालिका अनुसार दिउसो हुने भेटवार्तामा दुई पक्षीय हस्ताक्षर हुनेछ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
्प्रधानमन्त्री प्रचण्डले विहीबार भारतीय राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठीसँग भेटवार्ता गर्नुभयो ।  दिल्लीस्थित नेपाली राजदूतावासमा नेता त्रिपाठी र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट भएको हो । यस्तै भारतीय कम्युनिस्ट पार्टी माम्र्सवादीका महासचिव सीताराम यचुरीले पनि प्रधानमन्त्री प्रचण्डसँग भेट वार्ता गर्नुभएको थियो । यचुरीले प्रधानमन्त्री प्रचण्डलाई नेपालका भूकम्पपीडितको सहयोगका लागि पार्टीका तर्फबाट रकम समेत हस्तान्तरण गर्नुभयो ।

त्यस्तै, प्रधानमन्त्री दाहालले हिजै प्रवासी नेपालीलाई सम्बोधन गनुभयो ।  उहाँले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको परिवर्तनको प्रक्रियामा प्रवासी नेपाली समुदायको भूमिकालाई सरकारले उच्च मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले अब मुलुकको आर्थिक विकास र समृद्धिका लागि पनि प्रवासी समुदायको भूमिका प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो । यसैबीच अखिल भारत नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई व्यापार सहजीकरण, दुई देशको सम्बन्ध लगायत विषयमा १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डलाई नयां दिल्लीस्थित अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न भारतीय विदेशमन्त्री स्वराजसहित भारत सरकारका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।

३१ भदाै, २०७३ ।