समाचार

सदाका लागि विदा भए सुनिल बर्देवा

काठमाडौं– गायक तथा एरेन्जर सुनील बर्देवाको मंगलबार राति निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनले विक्रम संवत् २०५० को दशकमा गाएका गीतहरु अझै पनि लोकप्रिय छन् । ‘गोरेटो अनि उस्तै छ गल्ली उनको सदाबहार गीत मध्ये एक हो । सुरुमा सुनील द म्याट्रिक्स नामको ब्यान्डमा आवद्ध थिए उनी । त्यसमा अर्का गायक सरोज दत्त पनि थिए । ब्यान्डले २०५२ सालमा साजन स्मृति पप गीत प्रतियोगिता पनि जितेको थियो ।

पछि सुनील एक्लै संगीत कर्ममा सक्रिय भए । नवीन के भट्टराई लगायतका गायकहरुका गीतमा सुनीलले म्युजिक एरेन्ज गरेका थिए । उनका हरेक गीत र संगीत भरेका गीतहरु खुब चर्चामा छन् र रहीरहनेछन् । र ती गीतहरु अझै पनि उत्तिकै लोकप्रिय छन् । उनको चर्चित गीत ‘गोरेटो अनि उस्तै छ गल्ली, कतै तिमी बद्ल्यौ कि ।’ गीतको लिड लाइन रचेका थिए सुनिल स्वयंमले । स्टुडियोमै काम गर्दाको व्यस्त समयबीच उनले सुरुको हरफ त कोरे तर त्यसपछिका अन्तराका लागि साथ चाहियो संगीतकार नरेशदेव पन्तको । पन्तले गीतको बाँकी २ अन्तरा कोरेका थिए ।

उक्त गीत बजारमा आएको केही दिनमै निकै नै हिट भएको थियो । यो गीत आउनु अगावै पनि सुनिलले आफूलाई संगीत क्षेत्रमा स्थापित बनिसकेका थिए । यही विषयमा नरेशदेव पन्त भने, ‘त्यो गीतले स्थापित नाम सुनिललाई थप लाइटमा ल्यायो नै सँगै मलाई पनि चिनायो ।’ पप गीतको लहर चलेको बेला फरक मेलोडी रहेको गीत चल्ने कुरामा विस्वस्त थिए सुनिल र नरेश । कम होमवर्क गरेको गीतबाट सुनिलले राम्रो आउटकम पाएको उनको दाबी छ ।

त्यस समय चलेका गायक निमा रुम्बा, नविन के भट्टराई लगायतकाले गाउने प्राय गीत उनैले एरेन्ज गर्थे । २०५० को दशकमा चर्चित ९५ प्रतिशत गीत उनैले एरेन्ज गरेको नरेशले बताए । एरेन्जर र संगीतकारको काम धेरै गरे पनि उनी आफैँले ४ वटा गीती एल्बम सार्वजनिक गरे । गीतकार, संगीतकार, अरेन्जरसँगै गिटारिस्टका रुपमा पनि सुनिल चर्चित रहेका थिए ।

४४ वर्षीय उनको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । जण्डिसका कारण उनको स्वास्थ्य स्थिति निकै नै बनिसकेको थियो । ब्ल्याक पेपड स्टुडियोमा एरेन्जरको रुपमा कार्यरत उनी चाँडै नयाँ गीतको भिडियो सहित आउने तयारीमा समेत रहेका थिए । उनका साथी सन्तोष भट्टराईले भावूक हुँदै भने, ‘उसले भाउजुलाई डेडिकेट गरेर गीत गाएको थियो । भिडियो बनाउने योजना गर्दा गर्दै हामीले ढिला गरेछौं ।’
बर्देवाले पत्नी शोभा बर्देवालाई समर्पण गर्दै गीत रचेका थिए र भिडियो सुटका लागि पोखरा, जोमसोम लगायतका ठाउँ जाने योजनामा थिए । तर उनले अनायसै पत्नीको बाटो पछ्याए ।

मंगलबार राति हामी सबैबाट टाढा भएका सुनिललाई बुधबार दिउसो श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखियो । जहाँ अधिकांश कलकार, गीत–संगीतका सर्जकहरुको उपस्थिति रहेको थियो । गिटारिस्ट कलाकारहरूको टोलीले सुनीललाई श्रद्धाञ्जलीस्वरूप उनकै चर्चित गीत समर्पण गरेका थिए । डबलीमा गायक–गायिका, संगीतकार, गीतकार, संगीतप्रेमी र शुभेच्छुकहरुले गीत गुनगुनाएर श्रद्धाञ्जलीको भाव अझ गाढा पारेका थिए ।

सो क्रममा कर्ण दास, ज्योति घिमिरे, हेमन्त शर्मा, आनन्द कार्की लगायतले कुशल संगीतकर्मी र असल मान्छेका रूपममा सुनीललाई स्मरण गरे । कर्ण दासले एउटा कलाकार अल्पायुमै जीवनसँग हार्दा उसलाई के ले हरायो भनेर अन्य कलाकारले पनि मनन गर्नुपर्ने बताए । ‘हामी कलाकारको पछाडि परिवार र थुप्रै श्रोता तथा शुभेच्छुक जोडिएका हुन्छन्,’ उनले भने, ‘बाँचुन्जेल हामीले आफ्नो कर्तव्य नबिर्सौँ ।’ बुधबार नै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ । उनका दुई छोरी र एक छोरा छन् ।