समाचार

‘भ्रष्ट प्रहरीलाई दोहोरो कारवाही हुन्छ’-एसएसपी थापा

काठमाण्डौ-  भ्रष्टाचार गर्ने प्रहरीमाथि कारवाही नभएको गुनासो आईरहेको समयमा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रमुख,वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) विक्रम सिंह थापाले कुनैपनि प्रहरीले भ्रष्टाचार गरेको पाइएमा उसलाई दोहोरो कारवाही गरिने प्रष्ट पारेका छन् ।

कोटेश्वरस्थित ग्रामर कलेजमा आयोजित प्रहरी मेरो साथी विषयक अन्तरक्रिया कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै एसएसपि थापाले अन्य भ्रष्टाचारीलाई एउटा (कानुनी) कारवाही भएतापनि प्रहरीलाई भने विभागीय र कानुनी गरि दोहोरो कारवाही हुने बताए ।

कुनैपनि प्रहरीले भ्रष्टाचार या अन्य कुनै अपराध गरेको पाइएमा तत्काल माथिल्लो निकायलाई उजुरी गर्न सबैसंग आग्रह गर्दै उनले दोषि प्रहरीविरुद्ध प्रमाणसहित उजुरी दिँदा कारवाही भएन भने आफुलाई कालोमोसो दल्नसमेत उनले भने ।

सामुदायीक सेवा तथा विकास समाज, सामुदायीक प्रहरी सेवा कोटेश्वर तथा ग्रामर पब्लिक उच्चमाविको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बोल्दै उनले प्रहरी जवान सहित हरेक प्रहरी शान्ति स्थापनाका लागि विदेश मिशनमा जाने र त्यस अवधिमा पारदर्शिरुपमा राम्रो कमाई हुने हुनाले कुनै पनि प्रहरीले गैरकानूनी कमाई गर्नु नपर्ने एसएसपि थापाले प्रष्ट पारे ।

विगतमा नेपाल प्रहरीमा जति भ्रष्टाचार भएपनि अहिले शुन्य सहनशिलता र विभागीय कारवाहीलाई तिव्रता दिएको हुनाले छिटपुट बाहेक नगन्य भ्रष्टाचार हुने गरेको पनि उनले बताए । ७५ हजार प्रहरीमा एकदुईजना खराव निस्किँदैमा सिंगो प्रहरी संगठन खराव नहुने पनि उनको दावी थियो ।

लागुपदार्थ दुव्यर्सनको पहिलो खुटकिलो धु्रमपानबाट शुरु हुनाले सावैजनिक ठाउँमा ध्रुमपान गर्नेलाई कारावही गर्न नेपाल प्रहरीले पोहोरदेखि नै अभियान थालिसकेको बताउँदै वरिष्ठ प्रहरी उपरिक्षक थापाले विद्यार्थीहरुले साथीहरुको उक्साहटमा ध्रुमपान, सुर्तीसेवन र लागुपदार्थको दुव्र्यसन गर्न नहुने कुरा बताए ।

साइबर क्राइमबारे बताउँदै उनले आफ्ना व्यक्तिगत र असभ्य देखिने खालका कुनैपनी तस्वीर र कुराहरु फेसबुकमा नराख्न पनि विद्यार्थीलाई आग्रह गर्दै विद्युतीय अपराध गरेवापत ५ वर्षसम्म कैदको व्यवस्थाबारे पनि उनले विद्यार्थीलाई जानकारी गराए ।

उनले लागुपर्दाथका ९० प्रतिशत दुव्र्यसनीको पहिचान चुल्ठे र मुन्द्रे भएको बताउँदै कलेज पढ्ने युवाहरुले लामो कपाल पाल्नु र कान छेडेर मुन्द्रा लगाउनु नेपाली संस्कृति र सभ्यताको विपरत भएकोले त्यतातिर नलाग्न विद्यार्थीलाई आग्रह गरे ।

त्यस अवसरमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले प्रहरी सुखको नभई दुःखको साथी भएको उल्लेख गर्दै आफुलाई दुख र आपत विप्त पर्दा प्रहरीलाई सम्झन विद्यार्थीलाई आग्रह गरे ।

ग्रामर कलेजका संस्थापक प्रिन्सिपल राजकुमार राईले नेपाल प्रहरीले शुरु गरेको प्रहरी मेरो साथीको नारालाई व्यवहारमा उतार्नुपर्ने, नम्र भएर सर्वसाधारणलाई सेवा दिनुपर्नेलगायतका विचार राखे ।

सामुदायीक सेवा तथा विकास समाज कोटेश्वरका उपाध्यक्ष डा.पदमराज लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा करीव २ दर्जन विद्यार्थीहरुले वरिष्ठ प्रहरी उपरिक्षक थापालाई प्रहरी र अपराधबारेका जिज्ञासा राखेका थिए ।

नेपाल प्रहरीले प्रहरी मेरो साथी कार्यक्रमलाई स्थानीय तहका विद्यालय र कलेजमा अन्तरक्रिया गर्दै प्रहरी देखेर भाग्ने होइन सहयोग गर्ने वातावरण बनाउन पहल गर्दै आएको छ ।