समाचार

इन्द्रजात्रा शुरु, लिंगो ठड्याइयो

काठमाडौं– काठमाडौं उपत्यकामा आजबाट इन्द्रजात्रा शुरु भएको छ । काठमाडौंको बसन्तपुरमा आज बिहान ९ बजेर ३ मिनेटमा इन्द्रध्वजसहितको ३२ हाते लिंगो ठड्याएसँगै इन्द्रजात्रा विधिवतरुपमा शुरु भएको हो । 
इन्द्रजात्रामा सबै देवीदेवतालाई सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याइन्छ । यस्तै इन्द्रजात्रा सुरु भएको प्रतिक स्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्र लगायतका ठाँउमा पनि ससाना लिंगो ठड्याउने गरिन्छ । सातदिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन काठमाडौंका नेवार समुदायले आफ्ना दिवगंत भएका आफन्तको सम्झनामा ३ सय ६५ वटा दीप बालेर ‘अप्पा कु’ मनाउँछन् । काठमाडौंको ज्याठा, कमलाछि असन, भोटाहिटी, नयाँसडक, गणबहाल, लगन, कोहिटी, मरु, कंकेश्वरी लगायतका ठाउँमा रहेका तीन सय भन्दा धेरै देवदेवी, चैत्यमा दीप बालेर ‘अप्पा कु’ मनाउने गरिन्छ । यसैबीच आज हनुमानढोकामा लिंगो ठड्याउने क्रममा लिंगो ढल्दा दुई जना घाइते भएका छन् । 

२८ भदाै, २०७३ ।