समाचार

संसदमा ‘हाटा’ प्रवृत्ति मौलायो

काठमाडौं– सभामुख ओन्सरी घर्तीमगरले सांसदहरुलाई बैठकमा सहभागी हुन रुलिङ गरेकी छिन् । सांसदहरुले  हाजिरी गरेर टाप कस्ने ‘हाटा’ प्रवृत्ति बढेपछि बैठकमा सहभागी हुन रुलिङ गरेकी हुन् । गत शुक्रबारको बैठकमा कोरम नपुगेर स्थगित भएपछि आइतबार बसेको संसद्को बैठकको सुरुमै सभामुखले यस्तो रुलिङ गरेकी हुन् । 
संविधान कार्यान्वयनका लागि संसद्ले महत्वपूर्ण कामहरु गर्नुपर्ने अवस्थामा सांसदहरुको संसद्मा उपस्थिति अनिवार्य रहेको बताउँदै बाहिरी गतिविधिलाई संसद्को विजनेसलाई प्राथमिकता दिन पनि सभामुखले रुलिङ गरेकी छिन् ।

शुक्रबार संसद्मा हाजिरी गरेका २४० जना सांसदहरु एनजिओको गोष्ठीमा भाग लिन रिसोर्टमा गएपछि संसद्को बैठक स्थगित भएको थियो । यसबारेमा सबैतिरबाट आलोचना र खबरदारी भएपछि आइतबार संसद्मा सांसदहरुको उपस्थिति केही बाक्लो देखिएको छ। 

शुक्रबारको बैठकमा उच्च अदालत गठनलगायतका विधेयकसहितको महत्वपूर्ण कार्यसूची भए पनि नियमावलीअनुसार आवश्यक पर्ने न्यूनतम संख्या नपुगेपछि सभामुखले दिउँसो एक बजे बैठक अचानक स्थगित गर्नुपरेको थियो। 

गणपूरक संख्याका लागि १४९ जना सांसद्को उपस्थिति आवश्यक पर्नेमा शुक्रबार संसद्ंमा जम्मा १२६ जना सांसदहरु थिए। तर संसद्को हाजिरी खातामा भने ३६६ जना सांसद्ले दस्तखत गरेका थिए। ५ सय ९५ संख्या रहेको संसद्मा बैठकले कुनै निर्णय लिन वा प्रस्ताव पास गर्नका लागि १४९ सांसद आवश्यक पर्दछ।

पछिल्लो दिनमा संसद्‌मा सांसदहरुको उपस्थिति पातलो हुँदै गएपछि सभामुखले पटकपटक दलका सचेतकमार्फत चासो राख्दै आएकी छिन् भने स‌ंसद्‌मा पनि ध्यानाकर्षण गराउँदै आएकी छिन्। संसद्को बैठकभन्दा विदेश भ्रमण, जिल्ला भ्रमण र एनजिओको गोष्ठीतिर सांसदहरुको बढी रुचि र प्राथमिकता देखाउन थालेको आरोप चौतफी लाग्दै आएको छ ।