समाचार

चन्द्रागिरीमा प्रहरी र लुटेराबीच गोली हानाहान

काठमाडौं– काठमाडौंको चन्द्रागिरी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ । चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान ५ बजेर २२ मिनेटतिर गोली हानाहान भएको हो।
लुटेरा समूहलाई पछ्याउने क्रममा प्रहरीमाथि २ राउण्ड गोली फायर भएको र प्रहरीले पनि २ राउण्ड गोली चलाएको काठमाडौं प्रहरीका एसपी प्रद्युम्न कार्कीले बताए। दोहोरो गोली हानाहान भएपछि लुटेरा समुह फरार भएको प्रहरीले जनाएको छ ।

बा १ ज ३९४८ नम्बरको सुमो छाडेर लुटेरासमूह भागेको छ। उनीहरु जंगलतिर पसेका छन्। सुमोमा बन्द अवस्थामा रहेको सेफ फेला परेको एसपी कार्कीले बताए। उनीहरुले कुनै बैंक तथा वित्तिय संस्थामा रहेको सेफ अथवा सुनचाँदी पसलमा रहेको सेफ लुटेर लगेको हुनसक्छ, एसपी कार्कीले भने–‘यस विषयमा अनुसन्धान भइरहेको छ।’

२३ भदौ, २०७३ ।