समाचार

निजामती सेवालाई संघीय ढाँचामा ढाल्नुपर्छः प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती  सेवालाई संविधानको भावना अनुसार विकेन्द्रीकृत र संघीय ढाँचामा ढाल्नुपर्ने बताएका छन् । १३औं निजामती सेवा दिवस २०७३ मूल समारोहलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केन्द्रीकृत र एकात्मक रुपमा रहेको निजामती प्रशासन सेवालाई संविधानको मर्म र भावना अनुसार विकेन्द्रीकृत र संघीय ढाँचामा ढाल्नुपर्ने धारणा राखेका हुन् । 

उनले संविधानको कार्यान्वयन र संविधानको मर्म अनुसार निजामती सेवालाई विकेन्द्रीकृत तथा जनमुखी बनाउनु पर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले नेपालका लागि संघीयता नयाँ अनुभव भएको भन्दै संघीयतालाई सहि ढंगले लागु गर्न नसके मुलुकका सामु भयानक चुनौती आउने टिप्पणी गरे । 

ेकार्यक्रममा सामान्य प्रशासनमन्त्री केशबकुमार बुढाथोकीले परिवर्तित परिस्थिति अनुसार उच्च प्रविधिको उपयोग गर्दै जनताका कामलाई प्रभावकारी रुपले सम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिए । निजामती सेवा दिवसका अवसरमा निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार गरी ४१ जना निजामती कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार अर्थसचिव शान्तराज सुवेदीलाई प्रदान गरिएको छ । पुरस्कृत सुवेदीले आफुले प्राप्त गरेको २ लाख पुरस्कारको राशी प्राकृतिक प्रकोपबाट पीडितको सहयोगार्थ प्रदान गरेका छन् ।