समाचार

बालुवाटारमा प्रकाश र बिनाको आतंक

काठमाडौं- प्रचण्ड प्रधानमन्त्री भएसँगै उनको परिवारको अवैध बिहेले वैधानिकता पाएको छ । प्रचण्ड पूत्र प्रकाशकी तेस्री श्रीमतीका रुपमा बिना मगरलाई बालुवाटारमा भित्र्याइएको छ । बिनालाई बालुवाटार भित्र्याइएसँगै नेकपा(माओवादी केन्द्र)मा छोरा बुहारीको आतंक सुरु भएको छ ।

यसअघि प्रकाशले बिनालाई सिभिलहोमको अपार्टमेन्टमा राख्दै आएका थिए । प्रचण्ड प्रधानमन्त्री भएसँगै बिनालाई उनले प्रधानमन्त्री निवासमा भित्र्याएर वैधानिकता दिएका हुन् । दोस्रो श्रीमतीसँग सम्बन्ध बिच्छेद नगरेकाले प्रकाश र बिनाविरुद्ध बहुविवाह मुद्दा चल्न सक्छ । तर, नेपाल यस्तो देश हो, जहाँ ठूला व्यक्तिमाथि कानुन लाग्दैन । अझ उनै प्रकाशले पछिल्लो समय देश चलाउन थालेका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रकाश र बिनाको  गतिविधिले पार्टीकै नेताहरुसमेत लज्जित भएका छन् । प्रकाश  स्वकीय सचिवका रुपमा प्रचण्डको सचिवालयमा काम गर्दै आएका छन् । उनको व्यवहारले प्रधानमन्त्रीको सचिवालयकै कर्मचारीहरु राजिनामा दिने मुडमा पुगिसकेका छन् ।

प्रचण्डलाई अरुको च्यानलबाट भेट्न निकै गाह्रो हुने गरेको छ । कर्मचारी तथा प्रहरीको सरुवा, विभिन्न ठेक्कापट्टामा प्रकाशको विशेष चासो हुने गरेको छ । सेटिङ मिलाएर भेट्न खोज्ने व्यक्तिहरुले प्रकाश र बिनामार्फत् सजिलै प्रचण्डलाई भेट्न पाउने गरेका छन् भने पार्टीका नेता कार्यकर्तालाई प्रचण्डलाई भेट्न  पाउँदैनन् ।

सचिवालयका अन्य पदाधिकारीहरुले यस्तो गर्न हुन्न भन्दा उनीहरुलाई नै हप्काउने गरेको स्रोत बताउँछ ।  ठूला ठूला कमिशनको डिल प्रकाश र बिनामार्फत नै हुने गरेको स्रोत बताउँछ ।   प्रचण्डको सचिवालयमा चक्रपाणी खनाल ‘बलदेव’ राजनीतिक सल्लाहकार, रामदीप आचार्य जनसम्पर्क सल्लाहकार तथा गोविन्द आचार्य प्रेस सल्लाहकारका रुपमा कार्यरत छन् ।

त्यस्तै जोखबहादुर महरा प्रमुख स्वकीय सचिव तथा रमेश मल्ल स्वीकय सचिवका रुपमा कार्यरत छन् । तर, वालुवाटारमा प्रकाश र बिनाको गतिविधिका कारण उनीहरु सबै हैरान भएको स्रोत बताउँछ । उनीहरुको कारण सचिवालयमै विवाद बढ्दै गएको छ भने प्रचण्डप्रति नेताहरु आक्रोशित हुँदै गएका छन् ।  बेलुका भएपछि मदिरामा रमाउने  प्रकाशको बानी अहिले पनि उस्तै छ ।

बेलुका भएपछि उनी बालुवाटारमै मस्त मदिरामा मात्तिने गरेका छन् । ६ वर्षअघि उनी धुलिखेलको एक रिसोर्टमा मदिरामा मात्तिएर लडेका थिए । अत्याधिक मदिरा सेवन गर्ने उनको बानी अहिले पनि सुध्रिएको छैन । बिना र प्रकाश नै मिलेर पछिल्लो समय एक धनाढ्य व्यापारीलाई क्रिकेट बोर्डको अध्यक्ष बनाउन लबिङ भइरहेको सचिवालय स्रोत बताउँछ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।