न्युयोर्क

विजया दशमीको शुभकामना

हिन्दु नेपालीहरुको महान् चाड विजया दशमी तपाई, हाम्रो घर आगनमा आइपुगेको छ । नेपाल विभिन्न जातजाति र धर्मको समिश्रण भएको देश हो । हाम्रा आ–आफ्नै मौलिक परम्परा छन् । विजया दशमी हिन्दुहरुको महत्वपूर्ण पर्व भएपनि यो पर्वलाई अन्य धर्मावलम्बिहरुले पनि उत्तिकै महत्व दिएको पाईन्छ । 
असत्यमाथि सत्यको विजयको रुपमा मनाइने विजया दशमी भगवान् रामको रुपमा अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति पूजाको पर्व हो । शरद ऋतुको मन्द मुस्कानसँगै नेपालीको घर दैलोमा दशैंको उमङ्ग छाएको छ । सांस्कृतिक एवम् धार्मिक विविधतासंगै रमाइलो पर्व दशैंलाई नेपालीहरुले सौहार्दपूर्ण रुपमा मनाउँदै आएका छन् । यो पर्व भेटघाट, आशिर्वाद लिने, दिने, मीठो खाने र रमाइलो गर्ने पर्व हो । 
नेपाली समाजमा आधुनिकताले धपक्क छोप्दै लगेपछि यस्ता चाडपर्वको सांस्कृतिक धरोहर नै परिवर्तन हुँदै गएको छ । जति समाज आधुनिकतातिर अग्रसर हुँदै जान्छ, त्यति नै हाम्रा सांस्कृतिक महत्वहरु पनि भासिंदै गएका छन् । हामी जति नै आधुनिक युगमा प्रवेश गरे पनि आफ्नो संस्कृति धरोहरलाई बिर्सनु हुँदैन । 
दशै मनाउन अमेरिकाबाट पनि धेरै नेपाली मातृ भूमि फर्किएका छन् । तर तपाई हामी आफ्नै व्यस्तताले इच्छा हुँदा हुँदै पनि यहिं कर्म थलोमा विजया दशमी मनाउँदै छौं । प्रवासमा रहेर पनि हामीले यो पर्वलाई आफ्नै तरिकाले मनाउन सक्नु पर्छ अनि सिक्नु पर्छ । जो जहाँ रहे पनि विजया दशमीले सबैको घरमा खुसीयाली ल्याओस्, हाम्रो कामना । 
दशैंको अवसरमा हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक एवं आम नेपाली र नेपाली भाषी दाजुभाई तथा दिदी बहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नव दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । विजया दशमीको अवसरमा मातृ भूमि नेपालमा शान्ति र स्थायीत्व कायम होस् । यहिं हाम्रो हार्दिक मंगलमय शुभकामना ।

New York Media International Inc.