समाचार

नेजाको साधारण सभा बोस्टनमा

न्यूयोर्क । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ । 
टेक्सासको अस्टिनमा भएको नेजाको बैठकले आगामी मे २५ र २६ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ । साधारण सभाका लागि नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतलाई संयोजक चयन गरिएको महासचिव बाबुराम दाहालले जारी गरेको बक्तव्यमा उल्लेख छ । 
नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकतालगायत समसामयिक विषयवस्तुलाई समेटेर न्यूज बुलेटिन पनि प्रकाशित गर्ने भएको छ । त्यस्तै, नेपाली समुदायमा मात्र सीमित रहेको नेजालाई उत्तर अमेरिकामा रहेका मूलधारका पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गरी आफ्नो दायरा फराकिलो बनाउन पहल गर्ने पनि बक्तव्यमा उल्लेख गरिएको छ । 
यस्तै, नेपाल तथा उत्तर अमेरिकामा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा नेजाले अध्येतावृत्ति प्रदान गर्ने भएको छ । यसले स्वदेश एवं विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारलाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुन टेवा पुग्ने नेजाले दावी गरेको छ । त्यस्तै अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने बैठकले निर्णय गरेको छ । 
त्यस्तै नेपाली समुदायमा रहेका विभिन्न संघ–संस्थाबाट नेजालाई प्रचार–प्रसार तथा समाचार संप्रेषणका लागि अनुरोध आउने बताउँदै समुदायका कार्यक्रम तथा गतिविधिका बारेमा प्राप्त सूचनालाई समाचारको रुपमा तयार पारी आमसञ्चारमाध्यमलाई उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाइएको छ ।