समाचार

विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने- प्रधानमन्त्री

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ । 
संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो बताउनु भएको हो । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताउनु भयो । 
प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो । उहाँले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लाउनु भयो । अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पंतिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै अव त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहाल आजै न्यूयोर्क आउनु भएको हो । उहाँलाई संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदुत लोक बहादुर थापाले स्वागत गर्नु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गर्नु भएको छ । 
महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उहाँले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनै परेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।