न्युयोर्क

न्यूयोर्कमा वसन्तपुरको झल्को, पहिलो पटक मनाईयो इन्द्रजात्रा

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाईट्समा पहिलो पटक यन्या पुन्ही अर्थात इन्द्रजात्रा मनाईएको छ । सेप्टेम्बर २९ तारिख शनिबार नेवाः गुठी न्यूयोर्कले आयोजना गरेको इन्द्रजात्रा परम्परागत शैलीमा मनाईएको हो ।
पूर्ण परम्परागत शैली र विधिपूर्वक मनाईएको इन्द्रजात्राले ज्याक्सन हाईट्सको डाइभर्सिटी प्लाजाले काठमाडौंको बसन्तपुरको झल्को दिईरहेको थियो । जात्रामा जीवित देवी कुमारी, पुलुकिसी र लाखे नाच प्रस्तुत गरिएको थियो । ढोल र झ्याम्टाको धुनसँगैको लाखे नाचले इन्द्रजात्रालाई भव्य बनाएको थियो ।

खास गरी काठमाडौंमा बसोबास गर्ने नेवारी समुदायको विशेष पर्वको रुपमा रहेको इन्द्रजात्रा नेवाः गुठी न्यूयोर्कले पहिलो पटक आयोजना गरेको हो । परम्परा र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई पनि जात्राको महत्वको बारेमा जानकारी दिन यस्तो पर्व आयोजना गरिएको हो । नेवारी समूदायमा धान काटिसकेपछि किसानहरुले भैरव र कुमारीको पूजा गरी आपसमा विभिन्न परिकार खाएर रमाइलो गरी मनाउने यो पर्व अहिले मुख्य पर्वको रुपमा मनाउने गरिएको छ ।

जात्रामा नेवारी पहिरनमा सजिएका महिला तथा पुरुषहरुको नृत्य पनि विशेष आकर्षणको रुपमा रहेको थियो । विभिन्न खानाका परिकारलाई सजाईएको दृष्य पनि जात्रामा हेर्न लायक थियो । जात्रा हेर्नका लागि विभिन्न मुलुकका मानिसहरुको घुईचो लागेको थियो । निकै मौलिक र फरक शैलीको पर्व भएका कारण पनि उनीहरुले चाखपूर्वक हेरेका थिए ।