न्युयोर्क

नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान

न्यूयोर्क । नेवाः गुठी, न्यूयोर्कको अध्यक्षमा निर्मल प्रधान निर्विरोध निर्वाचित भएका छन् । गुठीको यहि सेप्टेम्बर ९ मा न्यूयोर्कको ज्याक्सन हाईटमा सम्पन्न भएको अधिवेशनले प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा विजयमान सिंह र श्रीजना तुलाधरलाई निर्वाचित गरेको छ । त्यस्तै सचिवमा सन्तोष महर्जन, कोषाध्यक्षमा सूर्य श्रेष्ठ महर्जन, सहसचिवमा सूवर्ण शाक्य र सहकोषाध्यक्षमा हृदय तुलाधर चयन भएका छन् भने सदस्यहरुमा विरेन्द्र मानन्धर, निशा श्रेष्ठ लामा, सोमेन्द्र रंजित, कविना महर्जन, प्रकाश तुलाधर, मोहिनी श्रेष्ठ, विनिता नकर्मी र सिर्जना मल्ल निर्वाचित भएका छन् ।
अधिवेशनले विधान पनि संशोधन गरेको छ । जसमा गुठीको अध्यक्ष हुनका लागि कम्तिमा एक कार्यकाल कार्यसमितिको पदाधिकारीमा बसी काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । 
गैरनाफामूलक संस्थाका रुपमा सन् २००७ मा स्थापना भएको नेवाः गुठी, न्यूयोर्कले अमेरिका तथा अमेरिका बाहिर रहेका नेवाःहरुको बहुसांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै आइरहेको छ । अमेरिकाका विभिन्न स्थानमा रहेका नेवाः समुदायका मानिसहरुलाई एकै परिवारको छातामुनी एकीकृत गरी नेवाः संस्कृति तथा परम्पराको प्रवद्र्धन गर्ने, नेवारी सांस्कृतिक सम्पदा एवं धर्म संरक्षण तथा नेवाः समुदायमा सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गर्ने र नेवाः समुदायभित्रका मनिसहरुबीच राम्रो सम्बन्धको विकास गरी सहकार्य बढाउने जस्ता कार्यहरु यस गुठीले गर्दै आएको छ । त्यस्तै समुदायका सदस्यहरु जहाँ भए पनि परेको बेलामा सहयोग गर्ने, सांस्कृतिक तथा परम्परालाई जोगाउने कार्यक्रम तथा आर्थिक सामाजिकस्तर उकास्ने किसिमका कार्यक्रमको आयोजना गर्ने कार्यहरु पनि नेवाः गुठी न्यूयोर्कले गर्दै आएको छ । 
काठमाडौं उपत्यकामा आदिकालदेखि नै बसोवास गर्दै आएका आदिवासी समुदाय हुन् नेवाः । नेपालको नाम नेवाः भाषाबाटै अप्रभंष भएर भएको भन्ने भनाइ रहेको छ । नेवाः भाषामा काठमाडौं उपत्यकालाई ने भनिने र पछि त्यो ने अप्रभंष भएर नेपाल भन्ने गरिएको भन्ने पाइन्छ । ऐतिहासिक प्रमाणको आधारमा अहिलेसम्म सबैभन्दा पुरानो अभिलेख अर्थात् काठमाडौंको चाबहिल स्तुपमा अशोककालीन समय अर्थात् ईसा पूर्व तेस्रो शदाब्दीदेखि नै मानव वस्ती भएको ब्राह्मी लिपिमा लेखिएको ईँटा भेटिएको छ । त्यसैले ईसा पूर्व तेश्रो शताब्दीदेखि नै उपत्यकामा मानिसको बसोबास भइसकेको देखिन्छ । त्यसबेलादेखि नै नेवारहरूको बसोबास भएको ऐतिहासिक प्रमाण हो । काठमाडौं उपत्यकामा राज्य सञ्चालनको आधारलाई वंशावलीमा उल्लेख भएअनुसार सबैभन्दा पहिला गोपालवंशी त्यसपछि क्रमशः महिसपाल, अभीर किरात, लिच्छिवि हँुदै मल्लहरूले समेत राज्य सञ्चालन गरेको पाइन्छ । त्यसरी राज्य सञ्चालन गरेकाहरू सबै नेवाः भएकाले गोपलवंशीको राज्य सञ्चालनभन्दा अघिदेखि नै उपत्यकामा नेवाः भएको अनुमान गर्दै आइएको छ ।
नेवाःहरूको बसोबास नेपालको ७७ जिल्लामा रहेको छ । उनीहरू विभिन्न कालखण्डमा काठमाडौं उपत्यकाबाट बाहिर बस्न गएका हुन् । पछिल्लो समयमा नेवाःहरू विभिन्न मुलुकमा पनि बसोबास गर्दै आएका छन् ।
पछिल्लो तथ्यांकअनुसार नेवाःहरूको जनसंख्या १३ लाखभन्दा बढी रहेको छ । तीमध्ये आधा जनसंख्या काठमाण्डौं उपत्यकामा रहेको छ । १३ लाख नेवाःहरूमध्ये ६३ प्रतिशत नेवाःहरूले मात्र नेपाल भाषा बोल्दछन् । नेपाल भाषालाई संयुक्त राष्ट्रसंघले लोप हुन लागेको भाषाको सूचिमा सूचिकृत गरेको छ ।