न्युयोर्क

न्यूयोर्कमा म्हः पूजाको तयारी तिब्र

नेवाः गुठीको एक दशक पूरा

न्यूयोर्क । नेवा गुठीको आयोजनामा यहिं अक्टोबर ३१ तारिखमा न्यूयोर्कमा म्हः पूजा गरिने भएको छ । न्यूयोर्कको सन्निसाईडमा आयोजना गरिएको म्हः पूजाका लागि गुठीले आफ्नो तयारी तिब्र बनाएको छ । 
नेवाः गुठी स्थापना तथा न्यूयोर्कमा म्हः पूजा आयोजनाको १० वर्ष पूरा भएको अवसरमा यो वर्ष विशेष कार्यक्रम गरिने गुठीले जनाएको छ । गुठीले सन् २००७ देखि प्रत्यक वर्ष म्हः पूजा गर्दै आएको छ । नेपाल सम्बत ११३७ प्रारम्भ अर्थात न्हूँदया भिन्तुना विशेष कार्यक्रमसहित म्हः पूजा गर्न लागिएको आयोजकले जनाएका छन् । कार्यक्रममा सहभागिताका लागि ३५ डलरको टिकट व्यवस्था गरिएको छ । कार्यक्रम स्थलबाटै टिकट लिनुपरेमा ४० डलर भुक्तान गर्नुपर्नेछ । त्यस्तै १२ वर्ष मुनीका बालबालिकाका लागि भने २० डलरको टिकटको व्यवस्था गरिएको छ । म्हः पूजामा नेवारी खाना, गीत संगीत, नेवारी संस्कृति झल्कने विभिन्न कार्यक्रम, खेलकुद र अन्य विविध कार्यक्रम गरिनेछ ।
म्हः पूजा नेवार समुदायले मान्दै आएको नेपाल सम्वत् अर्थात नयाँ वर्षको सुरुवातको उपलक्ष्य पारेर मनाउने पर्व हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० बाट नेपाल सम्वतको सुरुवात गरेका थिए । यसैको उपलक्ष्यमा नेवार समुदायले म्हः पूजा अर्थात् आफ्नो शरीरको पूजा गरि सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । लक्ष्मीपूजाको भोलि पल्ट, गोबर्धन पूजाको दिनमा परिवारको सबै सदस्य अनिवार्य रुपमा एकै ठाउँमा बसि परिवारको सबै भन्दा जेठिबाठी आमाले सबैको पूजा गरि सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ ।