न्युयोर्क

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्षमा थोकर

न्यूयोर्क । तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्षमा शान्तबाबु थोकर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । गतसाता न्युयोर्कको ज्याक्सन हाइट्समा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । 
अधिवेशनले प्रथम उपाध्यक्षमा अमृत लामा, उपाध्यक्ष सृजना लामा र महासचिवमा अमर तामाङलाई चयन गरेको छ । यस्तै सचिवमा छिरिङ योञ्जन र कोषाध्यक्षमा नाम्गेल लामालाई चयन गरिएको छ भने सदस्यहरुमा राम तामाङ, प्रविण लामा, सानु कुमारी लामा र मैना लामा निर्वाचित भएका छन् । 
पदभार ग्रहणपछि अध्यक्ष थोकरले न्यूयोर्कमा संस्थाको कार्यालय सञ्चलन र तामाङ भाषा, धर्म सम्बन्धी शिक्षा कार्यक्रम सुरु गर्ने घोषणा गरे । उनले तामाङ भाषा र धर्म सम्बन्धी शिक्षा कार्यक्रम सञ्चालनका लागि आफ्नो माताहतमा रहेको इन्टरनेसनल मार्शल आर्ट एशोसिएशन न्युयोर्कको (कराते प्रशिक्षण स्थल) हल उपलब्ध गराउने घोषणा गरेका छन् । त्यस्तै उनले तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई सन् २०१८ भित्र शिलन्यास गर्ने जनाएका छन् । थोकरले सन् २००८ देखि २०१० सम्म सोसाइटीको महासचिवको जिम्मेवारी सम्हालेका थिए ।