शैलेश श्रेष्ठ, न्यूजर्जी
मध्यपन्थी यथास्थितिवादमा निर्लिप्त रमाएको संयुक्त राज्य अमेरिका अहिले डरलाग्दो आर्थिक असमानताको खाडल अनि रंगभेदको संक्रमणबाट आक्रान्त छ । उदारवादको नाममा जनताको दवाबबाट मुस्किलले एक कदम अघि बढेर खुसीसाथ दुई कदम पछाडि फर्कने बानी परेको अमेरिका पहिलो अस्वेत अमेरिकी राष्ट्रपति बराक हुसैन ओबामाको दुई कार्यकाल पछि पुरानै ढाँचा र ढर्राको स्वेत साम्राज्यको डरलाग्दो परिकल्पनामा फर्किएको छ । जहाँ रिपब्लिकन पार्टीकै हर्ताकर्ता र संस्थापनले नरुचाएका नीतिगत र बैचारिक अडान नभएका एक स्वेत अतिवादी अराजनैतिक व्यक्तित्व डोनाल्ड ट्रम्प उक्त स्वेत एकाधिकारवादी शासन र साम्राज्यको परिकल्पनाकार बनेका छन् ।
दक्षिणका असल छिमेकी म्याक्सिकोका आप्रवासीहरुलाई ‘रेपिष्ट’ र ‘क्रिमिनल’ को भद्दा गाली गर्दै आफ्नो राष्ट्रपतीय यात्रा तय गरेका ट्रम्पले गाली गर्न कसैलाई बाँकी राखेनन् । आफ्ना राजनैतिक प्रतिद्वन्दी र टेलिभिजनका सहकर्मीहरुलाई असभ्य अनि अशिष्ट गाली गरेर उनले आफ्नो असली नियत सार्वजनिक गरे । एक्काईसौं शताब्दीको उदारवाद उन्मुख अमेरिकी राजनीति र समाजमा उनले दक्षिणी सिमानामा मानव निर्मित पर्खाल लगाउने दुरुह सपना मात्र देखेनन् अझ एक कदम अगाडी बढेर मुस्लिम समुदायलाई निरन्तर तिरस्कार र घृणाको शब्दबाण प्रहार गरिरहे । आधुनिक समाजका स्वाधीन अमेरिकी महिलाहरुलाई नियन्त्रण र हिंसाको भाषा बोल्ने ट्रम्पले यसको महँगो मूल्य चुकाउनु पर्ने निश्चित छ । प्रो–लाईफको पुरातानिक निर्देशित भाषा र निर्देशक बोल्ने रिपब्लिकन मिट रम्नी र उनी अघिका थुप्रै अनुदारवादी राष्ट्रपतिका उम्मेदवारहरुले पनि त्यस्तो क्षति व्यहोर्नु परेको थियो ।
स्वभाव र ब्यबहारका हठी अतिवादी डोनाल्ड ट्रम्पलाई मान्छेले मन पराउनु नपराउनु आफ्नो ठाउँमा छ, त्यो प्रत्येक मान्छेको स्वायत्त निजी अनि मौलिक स्वतन्त्रता हो तर ट्रम्पले परम्परागत रिपब्लिकन अमेरिकी राजनीतिमा ‘भूँईंचालो’ ल्याएको सत्यलाई चाँही नकार्न मिल्दैन । छ महिना अघिसम्म पनि ट्रम्पले यो स्थान बनाउँछन् भन्ने राजनैतिक आधार थिएन, न उनी राजनीति जानेका मान्छे हुन्, न उनको पक्षमा संस्थापनको कृपा र आशिर्वाद नै थियो । आम अमेरिकीहरु मात्र होइन मिडिया र राजनीतिका अधिकांश जाने मानेका समिक्षक र पण्डितहरुले उनी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका लागि मनोनित हुन्छन् भन्ने कुराको कल्पनासम्म पनि गरेका थिएनन् । सिंगो रिपब्लिकन संस्थापन विपक्षमा रहँदा पनि एक खेमाका जनताको अभिमत र समर्थनले उनले यो स्थान जबर्जस्त तय गरे । शताब्दीकै अलोकप्रिय कांग्रेस र जर्जर यथास्थितिवादी संस्थापनका कारण उनी अहिले उनको स्वेत अतिवादी खेमामा परिवर्तनका सम्बाहक अनि आशा बने ।
पार्टीको राष्ट्रिय कन्भेन्सन पछि साधारणतया उम्मेदवारले मत सर्वेक्षणमा प्रगति हासिल गर्ने गर्दछ तर ट्रम्पले सोंचे भन्दा बढी अंकमा आफ्नो अग्रता हासिल गरेका छन्, त्यो चाँही निक्कै आश्चर्यजनक घटना हो । अहिले राष्ट्रिय सर्वेक्षणहरुमा ट्रम्पले अग्रता कायम गरेका छन् । तर डेमोक्रेटिक पार्टीको फिलाडेल्फिया कन्भेन्सनपछि हिलारीको अग्रता रहने निश्चित छ । त्यसको मूल आधार डेमोक्रेटिक पार्टीको पहिलो महिला राष्ट्रपति उम्मेदवार हिलारी रोधम क्लिन्टनले फिलाडेल्फिया कन्भेन्सनमा दिएको सारगर्वित सम्बोधन नै हो । बर्नी सान्डर्सको राजनैतिक क्रान्तिमार्फत सामाजिक अनि आर्थिक न्यायको मुद्दामा अडिग अनि जुझारु देखिएका उनमा लाखौ प्रगतिशील समर्थक मतदाताहरुलाई आफुसंग जोड्न उनी सफल र सक्षम देखिएकी छिन् ।
रिपब्लिकन पार्टीको तुलनामा डेमोक्रेटिक पार्टीको कन्भेन्सन निक्कै बिबिधताले सम्पन्न अनि एकिकृत देखियो । त्यसको ठूलो जस आफुलाई एक मात्र समाजवादी सिनेटर भनेर स्वघोषणा गर्ने बर्नी सान्डर्सलाई जान्छ । उनको अनुभवी, परिपक्क अनि सुझबुझपूर्ण कदमले मात्र यसो हुन सम्भव भएको हो । कन्भेन्सनमा मत बिभाजन भईरहेको अवस्थामा उनले व्यक्ति भन्दा पार्टी र नीतिलाई माथी राखेर आफ्नो प्रतिद्वन्दी हिलारी क्लिन्टनलाई समर्थन गरेको घोषणा गरे । म जस्तै लाखौँ बर्नी सान्डर्सका समर्थकहरुलाई अलिकति अलिनु अनि कसो कसो नमिठो त लाग्नु स्वभाविकनै हो तर हामीले स्वीकारेको राजनैतिक पद्धतीमा भएका अथवा बँचेका मध्यबाट अलि राम्रोलाई छान्ने हो त्यस अर्थमा अव सारा उदार अनि प्रगतिशील मतदाताहरुले हिलारी रोधम क्लिन्टनलाई सहयोग अनि समर्थन गर्नुको बिकल्प छैन ।
यो वर्ष अमेरिकी राजनीतिमा निक्कै अनौठा खाले घटना परिघटनाहरु देखा परे । अमेरिकी पुरातनवादी राजनैतिक निरन्तर आकस्मिकताको अन्त्य भएर नयाँ खाले राजनैतिक पद्धतीको आरम्भ हुन सक्ने झिनो संकेत पनि देखा प¥यो । अमेरिकी राजनीतिले सयौं वर्षपछि नयाँ आयाम र गन्तब्य लिने सम्भावना रहेको कुरा अमेरिकी स्वतन्त्र राजनैतिक पण्डितहरुले औंल्याउन थालेका छन् । उनीहरुको अड्कल छ बर्नीको ‘रिभोलुशन’ र ट्रम्पको ‘मुभमेन्ट’ ले अब अमेरिकी दुई दलीय तानाशाही पद्धतीको अन्त्य भएर अमेरिकामा ‘बहुदलीय लोकतान्त्रिक पद्धती’ को आरम्भ हुनसक्छ । अहिले बिभिन्न सर्वेक्षणहरुले जे जस्तो परिणामको सम्भावना देखाए पनि उदारवाद तर्फ उन्मुख एक्काईसौं शताब्दीको अमेरिकामा डोनाल्ड ट्रम्प र माईक पेन्सको ‘स्वेत एकाधिकारवादी साम्राज्य’ को परिकल्पना किमार्थ सम्भब छैन । त्यस अर्थमा हिलारी रोधम क्लिन्टनको जित निश्चित छ । अझ डेमोक्रेटिक कन्भेन्सनमा हिलारी क्लिन्टनले दिएको सारगर्वित सम्बोधनले त त्यस्तो सम्भावनालाई थप सुनिश्चित गरिदिएको छ ।
Comments