न्युयोर्क

नेपाल र गुएनाबीच न्यूयोर्कमा सम्झौता

कूटनीतिक सम्बन्ध विस्तार
न्यूयोर्क । नेपाल र पश्चिम अफ्रिकी मुलुक गुएनाबीच न्यूयोर्कमा कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र गुएनाका स्थायी प्रतिनिधि एवम् राजदूतद्वय दुर्गाप्रसाद भट्टराई र मामादी टौरेले शुक्रबार न्युयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै दुबै मुलुकका राजदूतले कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपाल र गुएनाबीच पारस्परिक सम्बन्ध अझ सुदृढ हुने तथा आपसी हित र चासोका विषयमा सहकार्य गर्न सहज हुने अपेक्षा लिएका छन् ।

नेपाल र गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दुवै मुलुकका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनलाई गराएको नियोगले जनाएको छ । एक करोड १७ लाख ८० हजार १६२ जनसङ्ख्या रहेको गुएनाको अर्थतन्त्र कृषि र खनिज पदार्थ उत्पादनमा निर्भर छ । गुएनासँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका एकसय ४३ देशमा विस्तार भएको छ ।