न्युयोर्क

न्यूयोर्कमा उभौली भव्यरुपमा मनाइँदै

न्यूयोर्क। किरात राईहरुको महान चाड साकेला उभौली अमेरिकामा भव्यरुपमा मनाइने भएको छ । अमेरिकामा बसकोबास गर्दै आएका किरात राईहरुले आफूहरुको महान पर्व साकेला उभैलीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएका छन् । न्यूयोर्कस्थित जेनरल पार्क क्वीनटीन स्ट्रीटमा यही मे २२ मा साकेला उभौली विशेष कार्यक्रमकाबीच मनाइने कार्यक्रम आयोजकका प्रमुख जिदेन राईले बताउनुभयो । कार्यक्रममा आफूहरुको मौलिक संस्कृति झल्किने  साकेला नाँच लगायत विषेश कार्यक्रम दिउसो ११ बजेदेखि ७ बजेसम्म गरिने आयोजककी सचिव नीला राईले बताउनुभयो । 

किराँत सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड साकेला उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरू हुन्छ। उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैवि प्रकोप तथा विपक्तिहरू नआउन् भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिनदेखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने गरिन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। उभौली साकेला चाडमा राईहरू आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन्। कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन्। 
गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको समेत  सहभागिता बढ्दो छ । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि यी जातिहरूले भव्य रूपमा किराँती रीतिअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी चण्डी नाच नाच्दै १ महिना सम्म मनाउने गर्छन। किरातीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुशी पार्नका लागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात चण्डिपूर्णीमामा उभौली र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली मनाउने गर्दछन् ।