विश्व

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४० नाघ्यो

जापान । जापानमा गत विहीबार र शनिबार विहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४० नाघेको छ । 
शनिबार बिहान जापानको दक्षिणी क्षेत्र कुमामाटोलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी ४० जना भन्दा बढीको मृत्यु भएको छ भने २ हजार बढी घाइते भएका छन् । घाइतेमध्ये पनि २ सय भन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । जापानी भूगर्भ वैज्ञानिकहरूका अनुसार भूकम्पको कम्पन सन् २०११ मा सुनामीअघि आएको भूकम्प जस्तै रहेको थियो । भूकम्पको सबैभन्दा धेरै प्रभाव दक्षिण पश्चिमी शहर माशिकीमा महसुस भएको जनाइएको छ । भूकम्पका कारण त्यस क्षेत्रमा कयौं घर क्षतिग्रस्त भएका छन् । भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी पनि दिइएको छ । यसअघि, बिहीवार राति गएको भूकम्पमा परी ९ जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए ।