विश्व

अमेरिकालाई रुसी चेतावनी, 'सिरियामा आक्रमण गरे युद्ध'

एजेन्सी, ३० चैत । रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन्। 
उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्ति खतरामा पारेको आरोप पनि लगाए। विद्यमान अवस्था निकै खतरनाक रहेको उनको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरेजा मेसँग सम्पर्क गर्नसक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रासायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ। 
ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीबारे कुनै निर्णय नगरे पनि सबै विकल्प खुला रहेको र कुनै पनि समय उचित निर्णय लिइने जनाएको छ। सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटुता बढ्दै गएका बेला दुवैतर्फबाट आक्रमण गर्ने चेतावनी अाइरहेका छन्।