विश्व

लाइभ रिपोर्टिङकै क्रममा पत्रकारको हत्या

एजेन्सी, १० बैशाख । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा निकारागुवामा एक पत्रकारको हत्या भएको छ। स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो। उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेकै बेला उनकाे गोली हानी हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको भिडियो भाइरल भएको छ। भिडियोमा अचानक गोली लागेर उनी ढल्छन्। गोली कसले चलाएको हो भन्ने प्रष्ट हुन सकेको छैन।

गत बुधबारदेखि निकारागुवामा सामाजिक सुरक्षा र पेन्सनमा सुधारका लागि सरकारलाई दबाब दिन प्रदर्शन हुँदै आएको छ। आन्दोलनमा अहिलेसम्म २५ जनाको ज्यान गुइसकेको निकारागुवाको मानव अधिकार आयोगले जनाएको छ।