विश्व

अमेरिकी नेतृत्वमा सिरियामा सैन्य आक्रमण

काठमाडौं, २ बैशाख । अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा क्षेप्यास्त्र आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको हो । संयुक्त सुरक्षा फौजले सिरियाली सैन्य अखडालाई निसाना बनाएको छ ।

सिरियामा सन् २०११ देखि चलिरहेको गृहयुद्धमा अमेरिकालगायत देश विद्रोहीको पक्षमा छन् भने रसिया र इरान राष्ट्रपति बसर असदको पक्षमा छन् । आक्रमणले सिरियाको रासायनिक ठेगाना ध्वंस भएको अमेरिकी दाबी छ । अमेरिकी गठबन्धनले प्रहार गरेका १०३ मध्ये ७१ क्षेप्यास्त्र सिरियाली सेनाले खसालेको रसियाली रक्षा मन्त्रालयले जनाएको छ । क्षेप्यास्त्र हमलामा तीनजना घाइते भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ ।
आक्रमण शनिबार बिहानबाट सुरु भएको थियो । राजधानी सहर दमास्कस र होम्सवरपरका क्षेत्रहरूमा विस्फोटका ठूला आवाज सुनिएको र आकाशमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो क्षति भएको अनुमान छ । आक्रमणमा सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालयवरपरका क्षेत्रलाई लक्ष्य बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हमलामा कम्तीमा तीन स्थानलाई निसाना बनाइएको जानकारी दिएका छन् । शनिबार दमास्कसको मुख्य चोकमा सर्वसाधारण भेला भएर राष्ट्रपतिको समर्थनमा नारा लगाएका थिए । उता, रसियाको आग्रहमा सुरक्षा परिषद् स्थायी समितिको आपत्कालीन बैठक बसेको छ । बैठकमा रसियाले आक्रमणको निन्दा गर्नुपर्ने प्रस्ताव राखेको छ भने अमेरिकाले भने सिरियाले आक्रमण आफै निम्त्याएको टिप्पणी गरेको छ ।

 रसिया र चीनले यसको विरोध गर्दै पूर्वनिर्धारित योजनाअनुसार हमला भएको र यसको परिणाम सम्बन्धित सबैले नभोगी सुख नहुने धारणा अघि सारेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनविपरीत सिरियामा आक्रमण भएको छ । हामी राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठकको माग गर्दछौँ ।

चिनियाँ विदेश मन्त्रालयले भनेको छ–अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोगको चीनले विरोध गर्दै आएको छ । हामी कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा  वकालत गर्दै आएको स्मरण गराउन चाहन्छौँ । बल प्रयोगले समस्या समाधान गर्नेछैन, कानुनको दायरामा फर्किन सबैलाई आग्रह गर्दछु ।
त्यस्तै, ‘म खुला रूपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्र«पति र बेलायतका प्रधानमन्त्री अपराधी हुन्, यो अपराध तत्काल रोक्न दबाब दिनका लागि मुस्लिम देश र विश्व एकजुट हुनुपर्छ’ इरानका सर्वोच्च नेता आयातोल्ला खमेनीले भनेका छन् ।