न्युयोर्क

काउन्सिल म्यान कोष्टाको पक्षमा नेपाली अमेरिकन

न्यूयोर्क । न्यूयोर्कमा नेपाली अमेरिकी समुदायको उपस्थिति बढ्दो छ । यो सँगै यहाँको मुलधारको राजनीतिमा चासो राख्नु पनि स्वभाविक हो । अहिले नेपाली अमेरिकी समुदायको अमेरिकी मुलधारको राजनीतिमा चासो देखिएको छ ।
पछिल्ला केहि वर्षमा नेपाली समुदायका अगुवाहरुको अमेरिकी मुलधारको राजनीतिमा सहभागिता र पहुँच पनि बढिरहेको छ । यसैमेसोमा अहिले न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टका लागि उम्मेदवारी घोषणा गरेका काउन्सिल म्यान कोष्टा कोन्स्टान्टीनिडलाई सहयोग गर्न नेपाली अमेरिकी समुदाय जुर्मुराएको छ ।

काउन्सिल म्यान कोष्टा नेपाली डायस्पोराप्रति निकै सहानुभूति र सदभाव राख्ने डेमोक्राटिक लिडर हुन् । उनी न्यूयोर्क सिटीको डिस्टीक २२ का काउन्सिल म्यान हुन् । उनी सन् २०१३ मा ६५ प्रतिशत मतसहित विजयी भएका थिए भने सन् २०१७ मा ९३ प्रतिशत मत सहित दोस्रो कार्यकालका लागि विजयी भएका थिए । डेमोक्रेटीक पार्टीका नेता कोष्टा निकै चर्चित नेता मध्येका एक हुन् ।

कोष्टाले नेपाली समुदायका लागि उल्लेख गर्न लायक विविन्न कार्यहरु अधि बढाएका छन् । उनले एल्महस्र्ट हस्पिटलमा नेपाली भाषको व्यवस्थाका लागि निरन्तर संघर्ष गरिरहेका छन् । त्यस्तै डिपार्टमेन्ट अफ मोटर भेहिकल अर्थात डिएमभीबाट सवारी चालक अनुमति पत्रका लागि लिईने आवेदन नेपाली भाषामा दिन पाउने व्यवस्थाका लागि पहल गरेका छन् ।

आफ्नो अधिकार रक्षा र सुविधा विस्तारका लागि मुलधारको राजनीतिमा प्रवेश अनिवार्य भएको महशुस गर्दै नेपाली अमेरिकी अगुवाहरुले यस्तो पहल गरेका हुन् ।

काउन्सिल म्यान कोष्टासँग अन्तरक्रिया गर्दै उनको उम्मेदवारीप्रति ऐक्यवद्धता जनाउँदै सहयोग र सहकार्यका लागि ३९-३० स्टीट उडसाइडमा भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । यहि अगष्ट २५ तारिख शनिबार दिउँसो १२ः३० बाट ३ बजे सम्मका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सहभागिताका लागि नेपाली डायस्पोराका सम्पूर्ण महानुभावलाई आग्रह गरिएको छ ।