विश्व

क्षेप्यास्त्र प्रयोगपछि सबै विकल्प खुला : ट्रम्प

वासिङटन, १४ भदौ ।  उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मंगलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै अब ‘सवै विकल्प खुला' रहेको बताएका छन् ।तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार यस क्षेत्र र समग्र विश्व समुदायबाट एक्लिने गतिविधि बाहेक अरू केही नभएको ह्वाइट हाउसले बताएको छ । ‘अन्य मुलुकलाई तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार विश्व समुदायबाट एक्लिने गतिविधि देखिएको छ', वक्तव्यमा भनिएको छ । यससँगै उत्तर कोरियाविरुद्धका सबै विकल्प खुला रहेको ट्रम्पले बताए।
यसैबीच राष्ट्रसंघका लागि उत्तर कोरियाका स्थायी प्रतिनिधि हान ताई सोङले प्योङयाङको जापानी आकाशको बाटो समुद्रमा गरिएको क्षेप्यास्त्र प्रक्षेपण कोरियाली प्रायद्वीपमा अमेरिकी हस्तक्षेपविरुद्धको कडा प्रतिकारको उपाय भएको स्पष्ट पारेका छन् । राष्ट्रसंघको निशस्त्रीकरणसम्बन्धी जेनेभा भेलालाई सम्बोधन गर्दै ताइ सोङले भने, ‘पटक पटकका चेतावनीपछि पनि अहिले अमेरिकाले दक्षिण कोरियाली भूमिमा सैनिक अभ्यास गरी खुला रूपमा उत्तर कोरियामाथि शत्रुवत् व्यवहार देखाएको छ । यसप्रति प्रतिक्रिया दिनु मेरो देशको कर्तव्य हुन्छ ।'
सोङले जापानी क्षेत्रमा प्रक्षेपण गरेको क्षेप्यास्त्रबारे प्रत्यक्ष रूपमा केही उल्लेख गरेनन् । उनले घुमाउरो पारामा ‘कोरियाली प्रायद्वीपमा देखिएको तनावका कारण ‘कुनै पनि विनाशकारी दुःखद नतिजा' सिर्जना भएमा यसप्रति अमेरिका जिम्मेवार रहनुपर्ने चेतावनी दिए । प्योङयाङले आत्मरक्षाका लागि प्रतिवाद गर्ने अधिकार रहेको पनि उत्तरकोरियाली स्थायी प्रतिनिधि सोङको जिकिर थियो । यसैगरी अमेरिकी राजदूत रोबर्ट वुडले उत्तर कोरियाले केही समयदेखि देखाइरहेका उत्तेजक गतिविधि अन्त्य गर्नेमा विश्वास व्यक्त गरे ।
सुरक्षापरिषद्को बैठक आह्वान
उत्तर कोरियाले मंगलबार पुनः ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्न सुरक्ष परिषद्को बैठक बोलाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणको जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया र दक्षिण कोरियाले निन्दा गरेका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले यस क्षेप्यास्त्र परीक्षणलाई अनौठो, गम्भीर र खतरनाक चेतावनी भएको चर्चा गर्दै राष्ट्रसंघको आकस्मिक बैठक बोलाउन आह्वान गरेका हुन् । उत्तरी कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सूचना गराउने साइरन बजेका थिए । सरकारे त्यहाका मानिसहरूलाई भुइँतला वा पक्की घरमा लुक्न आग्रह गरेको थियो ।
सन् २००९ मा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण जापानको आकाशमा गएको थियो । प्योङयाङले यो क्षेप्यास्त्र परीक्षण नभएको बताउँदै यसलाई स्याटेलाइट परीक्षण गरेको भनेको थियो । वासिङटन, सोल र टोकियोले यसलाई गैरकानुनी अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण भनेका थिए । उत्तर कोरियाले आठ वर्षयता निरन्तर रूपमा गर्दै आएको क्षेस्यास्त्र परीक्षण जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो । उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि छोटो दूरीमा मार हान्न सक्ने तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
रूसद्वारा उत्तर कोरियाको आलोचना
मस्को : रूसले जापानी आकाशमाथि क्षेप्यास्त्र प्रहार गर्ने प्योङयाङको कदम चिन्ताजनक भएको जनाएको छ । रूस उपविदेशमन्त्री सेर्गेई र्‍यावकोभले उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रम बारेको विवाद चर्कने चेतावनी दिए । यसबाट कोरियाली प्रायद्वीपको समग्र सुरक्षामा समस्या आउनसक्ने पनि उनले चिन्ता व्यक्त गरे । उनले उत्तर कोरियालाई भड्काएको भनेर अमेरिका र दक्षिण कोरियाको समेत आलोचना गरेका छन् । साभारः अन्नपूर्ण