विश्व

काे हुन् बलात्कारी बाबा ? जसलाई १० वर्ष जेल सजाय सुनाइयाे

भारत, १३ भदौ । अदालतबाट बलात्कार अभियोग प्रमाणित भएका भारतीय धर्मगुरु गुरमित राम रहिमलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । हरियाणा राज्यको रोहतक शहरमा रहेको जेलमै भारतीय अनुसन्धान निकाय सीबीआईको विशेष अदालतले उनीविरुद्ध सजाय सुनाएको हो । 
गत शुक्रबार सीबीआईको विशेष अदालतले सन् २००२ मा गुरमित राम रहिम सिंहले महिला भक्तहरुलाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित गरेको थियो । अदालतको फैसलापछि उत्तरी भारतका हरियाणा र पन्जाब राज्यमा कफ्र्यु जारी गरिएको छ भने राजधानी दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 
फैसलापछि उनका अनुयायीहरुले हरियाणाको सिसरा शहरमा एक कारमा आगजनी गरेका छन् । यसअघि गत शुक्रबार उनलाई अदालतले बलात्कारमा दोषी बताएपछि उनका भक्तहरुले हिंसा मच्चाउँदा ३८ जनाको ज्यान गएको थियो ।
अदालतले उनलाई दुई महिलालाई बलात्कार गरेको ठहर गर्दै १०–१० वर्ष जेल र १५–१५ लाख भारु जरिवाना गर्ने फैसला गरेको हो। रहिमलाई अहिले रोथकको जिल्ला कारगारमा राखिएको छ। प्रशासनले जेलको सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरेको छ।

को हुन् धर्मगुरु रहिम ? 

५० वर्षिय रहिम राजस्थानको गंगानगरमा जन्मिएका थिए। गाउँकै स्कुलबाट उनले माध्यामिक तहको शिक्षा पूरा गरे। उनको घरमा पत्नी तीन छोरी र एक छोरा छन्।

२३ वर्षको उमेरमा उनी देरा सच्चा सौदाको प्रमुख भएका थिए। ‘गैरनाफामुखी सामाजिक कल्याण र आध्यामिक संस्था’ भनिने देरा सच्चा सौदाका संसार भरि ४६ वटा केन्द्र छन् भने करिब छ करोड मानिस यसका अनुयायी छन्। सन् १९४८ मा शाह मस्तानाले यसको स्थापना गरेका थिए।

रहिम १९९० मा यसको प्रमुख भएका थिए।  त्यसपछि संस्था र उनी बेलाबेलामा विवादमा आइरहन्थे।

सन् २००२ मा भारतको संघीय प्रहरीले रहिममाथि बलात्कार र हत्या आरोपमा छानबिन थालेको थियो।

‘रक स्टार बाबा’ नामले समेत चिचिने रहिम गीत गाउने, कन्सर्ट गर्ने, म्युजिक भिडियो र फिल्म समेत खेल्ने गर्थे।

सन् २००७ मा शिख गुरु गोविन्द सिंहको भेषमा एक विज्ञापनको भिडियोमा देखिएपछि उनको आलोचना भएको थियो। २०१५मा उनी एक भिडियोमा हिन्दू भगवान बिष्णुको अवतारमा देखिएपछि उनीविरुद्ध उजुरी परेको थियो। यो अवधिमा उनी दर्जनभन्दा बढी आरोपमा मुछिएका छन्।

उनको वेवसाइटमा आध्यात्मिक गुरु, समाजसेवी, गायक र खेलाडीका रूपमा परिचय दिइएको छ।

ठूलो मात्रामा समर्थक रहेका उनको देरा सच्चा सौदा सत्तारुढ भारतीय जनता पार्टी र प्रतीपक्षी कांग्रेस आईले समेत सहयोग गर्दै आएका छन्।