विश्व

बलात्कारी बाबालाई भगाउन खतरनाक मास्टरप्लान !

भारत, ११ भदौ । (एजेन्सी)– भारतमा बलात्कारको अभियोगमा दोषी भएका बाबा राम रहीमलाई अदालतबाटै भगाउन खतरनाक योजना बनेको खुलासा भएको छ । बाबा गुरमित राम रहीमलाई अदालतबाटै भगाउनको लागि उनका हतियारधारी कमाण्डोहरु अदालत परिसरमा तैनाथ गरिएको पाइएको छ । 

प्रहरीले ७ जना हतियारधारी कमाण्डोलाई गिरफ्तार गरेपछि रहस्य खुलेको हो । पक्राउ परेका सात बन्दुकधारीमध्ये ५ हरियाणा प्रहरीकै भएको पनि खुलेको छ ।  प्रहरीले बाबाका अन्य २८ जना समर्थकलाई पनि पक्राउ गरेको छ । सातै गनम्यानको गाडीमा एकै–४७, पेस्तोल, पेस्तोलका ७१ राउण्ड गोली र राइफलको ५२ राउण्ड गोली बरामद गरेको छ ।

अन्य समर्थकको गाडीबाट समेत पेस्तोन, माउजर, फलामका रड, पेट्रोल बम, धुलो खुर्सानीको प्याकेट बरामद भएका छन् । कूल २४ गाडी पक्राउ परेका छन् । शुक्रबार बाबालाई अदालतमा ल्याइँदा पनि उनीसँग आएका गाडीको चेकिङ गरिएको थिएन । ती गाडीमा पनि ठूलो मात्रामा हतियार भएको खुलेको छ ।

अदालतको फैसलापछि पनि बाबालाई आफ्नै गाडीमा जान दिने सोचेका यी बाबाका गुण्डाहरुको योजना तब विफल भयो जब अदालतबाट प्रहरीले बाबालाई सरकारी गाडीमा लिएर गयो । प्रहरीले बाबालाई सरकारी गाडीमा लैजान लागेपछि बाबाका गनम्यानहरुको प्रहरीसँगै हालाहाल भएको थियो ।

अन्य समर्थकहरु बाबाका बिलासी गाडी लिएर प्रहरीको पछिपछि चण्डीगढको केण्ट एरियासम्म पुगेका थिए । त्यहाँ पनि उनीहरुको सुरक्षाकर्मीसँग बहस भएको थियो । तर प्रहरीभित्र घुसपैठ गरिसकेका बाबाका समर्थकहरुको योजना सेनाले विफल पारिदियो । किनकि त्यहाँबाट अगाडिको सुरक्षाको मोर्चा सेनाले सम्हालेको थियो । सेनाले सबै सुरक्षा आफ्नो जिम्मामा लिएपछि बाबाको योजना विफल भएको थियो । 

 उनका समर्थकले मच्चाएको हिंसामा ३१ जना मारिएका छन् । बलात्कारी धर्मगुरुका समर्थकको प्रदर्शनका कारण हरियाणा तथा पन्जाबका विभिन्न क्षेत्रको जनजीवन पुरै अस्तव्यस्त बनेको छ । हिंसाका क्रममा  २ सय घाइते छन् । मारिने सबै धर्मगुरुका अनुयायी रहेको भारतीय अधिकारीको भनाइ छ । धर्मगुरुको सैयौं समर्थक पक्राउ परेका छन् ।

हाल हरियाणा तथा पन्जाबको सुरक्षा व्यवस्था उच्च बनाइएको छ । डेरा सच्चा सौदा नामक आध्यात्मिक समुहका प्रमुख राम रहिम सिंह भारतमा हिरो धर्मगुरुका रुपमा परिचित छन् । उनी आपैmले निर्माण गरेको म्यासेन्जर अफ गड नामक चलचित्रमा समेत अभिनय गरेका छन् ।

हुन त भारतमा बलात्कारमा दोषी पाइएका राम रहिम पहिलो धर्मगुरु होइनन् । यसअघि सन् २०१३ मा अर्का धर्मगुरु आसाराम बापुलाई पनि बलात्कारको अभियोगमा जेल चलान गरिएको थियो । त्यसबेला पनि बापुका समर्थकले हिंसा मच्चाएका थिए ।