विश्व

उत्तर कोरियाविरुद्ध अर्को अमेरिकी चेतावनी

अमेरिका, २६ साउन । अमेरिकी रक्षा मन्त्री जेम्स् माटिसले प्योङयाङले परमाणु हतियार विकास गर्ने क्रम रोक्नु पर्नेमा जोड दिएका छन्। अन्यथा उत्तर कोरियाको शासन-सत्ता सिध्दिने र उसले मानवीय क्षति व्यहोर्नुपर्ने चेतावनी माटिसले दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध भीषण आक्रमण हुन सक्ने चेतावनी दिएको एक दिनपछि अमेरिकी रक्षा मन्त्रीले अर्को चेतावनी दिएका हुन्।

उत्तर कोरियाले चाहिँ अमेरिकी राष्ट्रपतिसँग ठोस कारण नै नभएको प्रतिक्रिया दिएको छ। उत्तर कोरियाले आफ्नो सेनाले अगष्ट महिनाको मध्यावधीसम्ममा प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआमको ४० किलोमिटर क्षेत्रभित्र पर्ने समुद्रमा चार वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने योजना बनाइरहेको बताएको छ।

त्यसअघि अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसनले उत्तर कोरियाबाट तत्कालै कुनै खतरा नभएको बताएका थिए। अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताको भनाइमा उत्तर कोरियाको विषयमा अमेरिका एकै स्वरमा बोलिरहेको छ। संयुक्त राष्ट्रसंघले चाहिँ तनावको कूटनीतिक समाधान खोज्न दुवै पक्षलाई आग्रह गरेको छ।

राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारीक्‌ले दुवै पक्षले कूटनीतिक समाधान खोज्नु पर्नेमा जोड दिए। "महासचिव पछिल्लो तनावका कारण अत्यन्तै चिन्तित छन्। दुवै पक्षले प्रयोग गरिरहेको धम्कीको भाषाका कारण महासचिव दु:खी छन्।" बीबीसीबाट