न्युयोर्क

नेवाः नखः न्युयोर्कको आयोजनामा चौंथो सामुहिक ईही सम्पन्न

न्यूयोर्क । नेवाः नखः न्यूयोर्कको आयोजनामा सामुहिक ईही अर्थात् बेलविवाह सम्पन्न भएको छ । नेवाः नखःको आयोजनामा नेपाल संवत ११३७  दिल्लाथ्व गुरु पुन्ही अर्थात् जुलाई ९ आइतबार न्यूयोर्कमा चौथौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको हो । नेवाः गुभाजु (पुरोहित) श्री समन्तश्री  बज्राचार्यले नेवाः बिधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवाः नखः न्यूयोर्कका कार्यबाहक अध्यक्ष राजा शाक्यले  थाकुलि (अध्यक्षता) भै  सहयोग गरी पुजा गर्नु भएको थियो ।
नखःका सचिव डा. नरेश मान शाक्य द्वारा संचालित उक्त कार्यक्रममा नखःका कार्यबाहक अध्यक्ष राजा शाक्यले नेपाल भाषा, संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिंदै स्वागत गर्नु भयो । महासचिब महेन्द्र बिर बज्राचार्यले संस्थाको परिचय, उद्देश्य र गतिबिधि बारे जनाकारी गराउनुभयो र संस्थाका सल्लाहकार अजयमान छोचूंले इहीको महत्वबारे प्रकाश पार्नुभयो ।


न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक ईहीमा ९ जना बालिकाहरु सहभागी रहेका थिए । ईही गर्ने बालिकाहरु आलिया महर्जन, आयुशी बज्राचार्य, ईभान्सी महर्जन, ईप्शा महर्जन, कृषा महर्जन, लिजला मानन्धर, श्रृटी श्रेष्ठ, सिमोन डंगोल र येशिला महर्जन थार्चेन रहेका थिए । 

कार्यक्रममा उनीहरुका अभिभावकहरु, पत्रकारहरू, समुदायका सदस्यहरू, अमेरिकन अतिथीहरू लगायत भर्जिनिया, बस्टन, डेलावएर, मेरील्याण्ड र न्युजर्सी बाट पनि अतिथिहरू आएका थिए । कार्यक्रमा १५० जनाको  उपस्थीति रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुमान प्रधानले कार्यक्रममा उपस्थित सवै सहभागी, अतिथि र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 
अमेरिकाबाट नेपालमा गएर ईही गर्दा धेरै खर्चिलो हुने भएकाले न्युयोर्कमै यसरी गरिएको परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित भएको आयोजक संस्था नेवाः नखः न्युयोर्कका उपाध्यक्ष विष्णुमान प्रधानले जानकारी दिनुभयो । यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृतिको समेत संरक्षण र प्रबर्दन हुने उहाँको भनाई थियो । 
नेवाः नखः न्युयोर्क नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबद्र्धनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवाः संस्था हो ।