न्युयोर्क

अल्ट्रा धाविका मीरालाई अमेरिकामा सम्मान

न्युयोर्क— नेशनल ज्योग्राफीले विश्वभरिको शाहसी व्यक्ति मध्येबाट छनौट गरेको अल्ट्रा धाविका मिरा राईलाई न्युयोर्कमा नेपाल सरकारको तर्फबाट र अन्य विभिन्न सस्थाले सम्मान गरियो । कार्यक्रममा मीरालाइ नेपाल सरकारको तर्फबाट नेपाली महावाणिज्यदूताबास न्युयोर्कका वाणिज्यदूत कृसु क्षेत्रीले सम्मान पत्रका साथ सम्मान गरेका थिए ।
त्यस्तै, संस्थाहरुमा युएस नेपाल क्लाइबर्स एसोसियनका अध्यक्ष पासाङरिन्जी शेर्पा र सल्लाहकार भेनिसा ओबरायले सम्मान पत्रका साथ राईलाई सम्मान गरेका थिए । युनाइटेड किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष विष्णु राई र सल्लाहकार शुरेश चाम्लिङ राईले पनि उनलाई कदरपत्रसहित सम्मान गरेका थिए । भोजपुर नेपाली समाजका अध्यक्ष लिला राई र सल्लाहकार रुद्र राउतले पनि उनलाई सम्मान गरेका थिए । 
कार्यक्रममा एनआरएन न्युयोर्क च्याप्टरको तर्फबाट अध्यक्ष तेम्बा शेर्पाले च्याप्टरद्वारा संकलित एक हजार एक डलर नगद, किरात सोसाइटीले नगद एक हजार एक र इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका प्रमुख प्रशिक्षक पार्खी राईले नगद दुई सय डलर सहित मीरालाई सम्मान गरिएको थियो । त्यस्तै मीराको अभियानमा फेसबुक मार्फत लाइभ गरी सहयोग गर्दै आएका फोटोहेरा डटकमका फोटोग्राफर आङकामी शेर्पाले आइफोन सिक्सएस उपहार प्रदान गरेका थिए ।
सोसाइटीका केन्द्रीय अध्यक्ष विष्णु राईको सभापतित्वमा तथा वाणिज्यदूत कृसु क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टान नेपालका प्रतिनिधि सरिता लामा, किरात राई सोसाइटी न्युयोर्क च्याप्टरकी अध्यक्ष भारती राई, मनाङ समाज युएसका प्रतिनिधि कर्मा गुरुङ, युनाइटेड किरात सोसाइटी न्युइगल्याण्ड च्याप्टरका अध्यक्ष मुक्तिनारायण राई, जन सम्पर्क समिति न्युयोर्क च्याप्टरका महासचिव महेश मल्ल, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा, आदिबासी महिला महासंघका अध्यक्ष संगीनी राणामगर, कनेटिकट नेपाली समाजका प्रतिनिधि जय राई, युएस नेपाल क्लाइबर्स एसोसियसनका सल्लाहकार आङछिरिङ शेर्पा, सोसाइटीका न्युयोर्क च्याप्टरका अध्यक्ष केशब राम राई, एडवानका सस्थापक विष्णुमाया परियार, टान नेपालका प्रतिनिधि सरिता लामा, सोसाइटीका सल्लाहकार शुरेश चाम्लिङ, जनसम्पर्क समिति केन्द्रीय महासचिव मुनिन्द्र नेम्हाङ, युएस नेपाल क्लाइबर्स एसोसियसनका सल्लाहकार भेनिसा ओबरेन, एनआरएन अमेरिका पूर्व अध्यक्ष शिवकुमार राईले मीरा राईलाई बधाई तथा शुभकामना दिएका थिए ।
‘मेरो संघर्ष मात्र होइन नेपालदेखि विश्वभरिमा रहेका सबै नेपालीहरुले ४४ दिनसम्म गरिदिएको भोटिङले मलाई यो सफलता मिल्यो’ मीराले भनिन्— ‘मलाई यहाँसम्म पु¥याउने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’ 
उनले यो सफलतासँगै अब यसैमा निरन्तरता दिने र गाउबस्तीमा रहेका म जस्ता महिलाहरुलाई सहयोग गर्ने योजना बनाएको बताइन् । कुनै समय माओवादी छापामारको रुपमा पार्टी प्रवेश गरेकी मीराले गाउँको डाँडापाखामा गरेको अभ्यासका कारण यो सफलता मिलेको बताइन् । उनले घुँडामा भएको समस्याको कारण ७ महिना आरामपछि अब चाँडै दौडिने सोच राखेको र आफूजस्तै दौडिन चाहने महिलालाई सहयोग गर्ने चाहना व्यक्त गरिन् ।