न्युयोर्क

ट्रम्प सरकारको तमासा

प्रदिप परियार थापा मगर
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ७ मुस्लिम मुलुकहरु सिरिया, इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका इमिग्रेन र ननइमिग्रेन भिसा भएका नागरिकहरुलाई ९० दिनको लागि अमेरिका प्रवेशबाट प्रतिबन्ध गर्दै गत जनवरी २९ तारिख जारी गरिएको बिशेष आदेश (एक्जिक्यूटिभ अडर) लाई अमेरिकी अदालतले लागू गर्न अस्वीकार गरेपछि उनले सत्ता सम्हालेको ३ हप्ता नपुग्दै पहिलो गाँसमै ढुङ्गा साबित भएको छ । उनको उक्त बिशेष आदेशलाई फेब्रुअरी ९ तारिखको सुनुवाईमा अमेरिकी संघीय सरकारको नाईन्थ सर्किट फेडेरल अपिल कोर्टको ३ सदस्यीय इजलासद्वारा सर्वसम्मत रुपमा अस्वीकार गरिएको छ । तर आफ्नो पक्षमा नभएको कुनै पनि कुरालाई अस्वीकार र प्रतिवाद गर्ने उनको आदतलाई प्रमाणित गर्दै आफ्नो आदेशको प्रतिकूल आएको न्यायालयको फैसला लगत्तै राष्ट्रपति ट्रम्पले बिहीबार फेब्रुअरी ९ तारिखको आफ्नो ट्विटमार्फत भनेका छन् – ‘कोर्टमा भेटौंला । हाम्रो राष्ट्रको सुरक्षा धरापमा परेको छ ।’ यसो भनेर राष्ट्रपति ट्रम्पले आफ्नो ट्राभल ब्यानलाई लागू गर्न उनको सरकारले सर्वोच्च अदालतको ढोका ढक्ढ्क्याउने संकेत दिएका छन् । उता वासिङ्टन राज्यका गभर्नर जे ईन्स्लीले राष्ट्रपति ट्रम्पको अदालतमा भेट्ने ट्विटर पोष्टलाई जवाफ दिँदै भनेका छन् – ‘मिस्टर प्रेसिडेण्ट, हामीले भर्खरै तपार्इंलाई अदालतमा देख्यौं र हामीले तपाईलाई हरायौं ।’
ट्रम्प अझै पनि आप्रवासीहरु र मुस्लिमप्रति नकारात्मक र पूर्वाग्रही
उसो त, राष्ट्रपति ट्रम्पले निर्वाचनताका देखिनै अमेरिकामा रहेका झण्डै सवा करोड बैधानिक कागजपत्र नभएका आप्रवासी, बाह्य देशबाट अबैधानिक रुपमा प्रवेश गर्ने आप्रवासीहरु र मुस्लिम धर्मावलम्बीहरुको बिरुद्ध नकारात्मक र पूर्वाग्रही बिचार राख्दै आएका छन् । पछिल्लो उदाहरण, आप्रवासीहरुको प्रतिबन्ध (ईमिग्रेसन ब्यान) ट्रम्पको सबैभन्दा लोकप्रिय अर्डरहरु मध्ये भएको मर्निङ कन्सल्ट र पोलिटिको अनलाईनको पोललाई उनले बुधवार फेब्रुअरी ८ तारिख आफ्नो भेरिफाईड ट्विटर एकाउन्ट एट रियल डोनाल्ड ट्रम्पमा पुनः प्रकाशित गरेका छन् जसमा ५५ प्रतिशतले इमिग्रेसन ब्यानलाई समर्थन गरेको देखाईएको छ ।

विश्व प्रसिद्ध अमेरिकी कम्पनीहरु
ट्रम आदेशको विरुद्ध

यता अमेरिकाका विश्व हाँक्ने १२७ टेक्नोलोजी कम्पनीहरु एप्पल, फेसबुक, ट्विटर, गुगल, एडोबी, इबे, गोप्रो, इन्टेल, लिङ्कड ईन, लिफ्ट, उबर, विकिपेडिया, अमेजन, माइक्रोसफ्ट, पेपल, नेटफ्लिक्स, एचपी, एयरबिएनबी, ड्रपबक्स, पान्डोरा, मोजिलालगायतले अदालतमा बिचाराधिन मुद्दाको यात्रा प्रतिबन्ध हट्नु पर्दछ भन्ने पक्षमा आईतवार फेब्रुअरी ५ तारिख अमाइकस क्यूरी सुझाव पत्र पेश गरेका थिए । उक्त पत्रमा उल्लेख गरिएको छ – ‘आप्रवासी र यिनका सन्तानहरुले २ सयभन्दा बढी फर्चुन ५०० लिस्टका कम्पनीहरुको स्थापना गरेका छन् । यि कम्पनीहरुको संयुक्त वार्षिक आयस्रोत ४.२ ट्रिलियन अमेरिकी डलर हुन्छ र लाखौं अमेरिकीहरुलाई रोजगारी प्रदान गरेको छ ।’
विश्वकै १ नम्बरमा गनिने अमेरिकी कम्पनी एप्पल (आईफोन निर्माता)का सीईओ टिम कुकले जनवरी २८ तारिख आफ्नो कम्पनीका कर्मचारीहरुलाई लेखेको मेमोमा एक कदम अगाडि बढेर भनेका छन् – ‘एप्पलले हाम्रो कम्पनी र देशको भविष्यसँग गाँसिएको इमिग्रेसनको महत्वलाई गहन रुपमा बिश्वास गर्दछ । एप्पल इमिग्रेसनबिना अस्तित्वमा रहने नै थिएन, यसले आविस्कार र समुन्नत भन्ने कुरा त परै जाओस् ।’

अमेरिकी पर्खाल (वाल) खडा हुँदै
आजभन्दा २८ वर्षअघि सन् १९८९ मा पूर्वी जर्मनी र पश्चिमी जर्मनीबीच खडा गरिएको विश्व प्रसिद्ध बर्लिङ वाल सीमाना भत्काईए यता विश्वले विकास र प्रबिधिमा ठूलो फड्को मारिसकेको छ । अब एक विश्व (वन वल्र्ड) र ग्लोबलाईजेसनले गर्दा विश्व एउटा ग्लोबल भिलेजको रुपमा बिकसित भएको छ । तर दुर्भाग्यको कुरा, राष्ट्रपति ट्रम्पले २१औं शताब्दीको शुरुमा अमेरिका र छिमेकी मुलुक मेक्सिको बीच १०÷१२ बिलियन अमेरिकी डलर खर्च गरेर वाल (पर्खाल) सीमाना खडा गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिका छिरेर बसोबास गरेका बैधानिक कागजपत्र नभएका आप्रवासी (इमिग्रेण्ट)हरुलाई आआफ्नो देश फर्काइनु पर्ने जिकिर गर्दै आएका छन् भने मेक्सिकन आप्रवासीहरुलाई ‘बलात्कारी’ र लागू औषध ओसारपसार र अपराध गर्ने मान्छेहरुको रुपमा उल्लेख गर्दै चुनावका बेला घोषणा गरेको मेक्सिको र अमेरिकाको सीमानाबीच पर्खाल खडा गर्न एक्जिक्यूटिभ अडर जारी गरिसकेका छन् ।
 राष्ट्रपति ट्रम्पले यो कुरो भुसुक्कै बिर्सिएका छन् कि उनका पूर्खा पनि जर्मनी र स्कटल्याण्डबाट आप्रवासीको रुपमा अमेरिका आएका थिए । अझ, उनकी वर्तमान श्रीमती मेलानिया काउस ट्रम्प स्लोभेनिया देशकी आप्रवासी हुन् ।

’अमेरिकी सपना’ मा खेलवाड
राष्ट्रपति ट्रम्पको बिचार ‘अमेरिकन ड्रिम’ अर्थात ‘अमेरिकी सपना’को मूल्य र मान्यतासँग पटक्कै मेल खाँदैन । राष्ट्रपति ट्रम्पले आप्रवासीहरुलाई मात्र होइन मानव समाजको आधा हिस्सा रहेका महिलाहरुविरुद्ध पनि आफ्नो संकूचित पुरुषवादी सोंच र मानसिकतालाई उदाङ्गो पार्दै बिना हिच्किचाहट बिष बमन गर्दै आएका छन् । उनले गत वर्षको अमेरिकी राष्ट्रपतिय निर्वाचन अघि र निर्वाचनका बेला निसङ्कोच महिलालाई मोटो सुंगुर (फ्याट पिग), कुकुर्नी (डग) असभ्य (स्लोब) र घिनलाग्दो जनावर (डिस्गटिङ एनिमाल) को रुपमा प्रस्तुत गरेका थिए ।

बिबिधतामा एकता
सन् १४९२ मा कृस्टोफर कोलम्बसले ‘नयाँ विश्व’ (न्यू वल्र्ड)को रुपमा अमेरिकी महादेशलाई पत्ता लगाएपछि युरोपका गोरा जातिका मानिसहरु अमेरिकामा आफ्नो ‘अमेरिकन ड्रिम’ पुरा गर्न यानेकी सुखजिलो जीवन जिउन अमेरिका आएका हुन् । त्यतिखेर अर्थात ५२४ वर्षअघि नेटिभ अमेरिकन मात्र हालको उत्तर र दक्षिण अमेरिकामा बसोबास गर्दथे । अमेरिकालाई ‘मेल्टिङ पट अफ इम्मिग्रेण्ट’ त्यसै भनिएको होइन । यहाँ संसार भरका मानिसहरुको बेरोकतोक बसोबास रहिआएको छ । ‘डाईभर्सिटी ईज यूनिटी’ त्यसै भनिएको होईन । यहाँ बिबिधतामा एकता छ । यो एकता खल्बल्याउने छूट राष्ट्रपति ट्रम्पलाई पनि छैन ।
अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम’ का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।