न्युयोर्क

न्यूयोर्कमा होली पर्व विशेष रुपमा मनाईदै

न्यूयोर्क । मधेशी एशोसियसन इन अमेरिकाको ग्रेटर न्यूयोर्क च्याप्टरको आयोजनामा न्यूयोर्कमा होली पर्व विशेषरुपमा मनाईने भएको छ ।  च्याप्टरले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी होली पर्वका विषयमा जानकारी गराएको हो । आगामी मार्चको १२ तारिखमा न्यूयोर्कको सन्निसाईडस्थित कम्युनिटी हलमा आयोजना गरिएको होली विशेष कार्यक्रममा सम्पूर्ण नेपाली एवं गैरनेपाली समुदायलाई निमन्त्रणा गरिएको छ । न्यूयोर्क र न्यूजर्सीमा रहेका मधेशी समुदायको संयुक्त च्याप्टर ग्रेटर न्यूयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा दुबै राज्यका महानुभावको उपस्थिति रहने उल्लेख गरिएको छ । 
यसअघि एन्टाको नामबाट गरिने होली कार्यक्रम यो वर्षबाट मधेशी एशोसियसन इन अमेरिका (मा) को आयोजनामा गर्न लागिएको हो । आन्तरिक विवादका कारण एन्टाका अधिकांश सदस्यहरुले मा को गठन गरेका हुन् । पत्रकार सम्मेलनमा एशोसियसनका संयोजक सुनिल साहले एन्टामा आफूहरुको कुनै संलग्नता नरहेको बताउनु भयो । 
त्यस्तै मा का संस्थापक सदस्य डा. विनो शाहले आफ्नो संस्कार र संकृतिको रक्षा गर्दै एकले अर्कोलाई सहयोग गर्ने उद्देश्यले गठन भएको संस्थामा कोही कसैले विवाद गर्नु राम्रो नहुने भन्दै नयाँ संगठनमार्फत समुदायलाई सहयोग गर्ने बताउनु भयो । उहाँले एन्टामा विवाद भएपछि नयाँ संस्था गठन गरेको जानकारी दिनु भयो । 
पत्रकार सम्मेलनमा च्याप्टरका अध्यक्ष मनोज कुमार सिंहले होली विशेष कार्यक्रमलाई भव्य बनाउन सबैलाई सहयोगका लागि आग्रह गर्नु भयो । होली कार्यक्रमले एकातिर संकृतिको जगेर्ना गर्ने र अर्कोतिर एशोसियसनले निर्माण गर्न लागेको ‘आपतकालिन सहयोग कोष’ का लागि आर्थिक संलनसमेत हुने अपेक्षा गरिएको छ । एशोसियसनले निकत भविष्यमै यो कोषको स्थापना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।