न्युयोर्क

प्रधानमन्त्रीलाई अमेरिकाबाट ज्ञापन पत्र

न्यूयोर्क । नेवाः गुठी अमेरिकालगायत ८ वटा संस्थाले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । मंगलबार नेवाः गुठी अमेरिकाका अध्यक्ष धर्मेन्द्र गोपालीले नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउनु भएको हो । 

सरकारले सडक विस्तारका नाममा काठमाडौं उपत्यकामा चलाएको अभियानप्रति ध्यानाकर्षण भएको भन्दै ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्रमा भनिएको छ– ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सांस्कृतिक र पुरातात्वीक क्षेत्रको रुपमा सुपरिचित काठमाडौं उपत्यकालाई विकासको नाममा नेपाल सरकारले चलाएको सडक विस्तारको अभियानप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सडक विस्तार गरिनुपर्छ तर त्यसको नाममा ऐतिहासिक महत्व नै नामेटहुने गरी भैरहेको क्रियाकलाप तत्काल रोकिनु पर्छ ।’
उनीहरुले ज्ञापन–पत्रमार्फत सडक विस्तारको नाममा प्राचिन महत्वका धरोहरहरु भत्काईनुले सरकारको नियतमाथि नै प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका छन् । त्यस्तै उपत्यकावासीका आफ्ना पुख्र्यौैली थातथलो, घर तथा जग्गाबाट सडक विस्तारका नाममा मुआब्जा नदिई उठीबास लगाउने कार्य आपत्तिजनक भएको पत्रमा उल्लेख छ ।
उनीहरुले मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध, १९६६, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९, आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, २००७ ले प्रत्याभूत गरेको अधिकारको तत्काल कार्यान्वयन गर्न माग पनि गरेका छन् । विज्ञप्तीमा भनिएको छ– ‘सरकारले अव्यवस्थित सडक निर्माण कार्यलाई रोक लगाई त्यसको बैकल्पिक व्यवस्था गर्नुपर्छ, संविधानले प्रत्याभूत सम्पत्तिको हक, आवासको हक, जग्गा प्राप्तीको ऐन २०३४, जग्गा प्राप्ति तथा पुर्नवास नीति, २०७१ तत्काल कार्यान्वयन गर्नुपर्छ । संविधानले प्रत्याभूत गरेको अधिकारको रक्षा गर्नु राज्यको दायित्व हो । यस्तो असमाजिक, अमर्यादित र मानवअधिकार विरोधी कार्य तत्काल रोकी यस्तो कार्यमा संलग्लाई कानुनी दायरामा ल्याउन समेत हामी जोडदार माग गर्दछौं । साथै काठमाडौं उपत्यकाको प्राचिन सम्पदाको संरक्षणमा सरकारले उचित ध्यान पु¥याई ट्राफिक व्यवस्थापनको दिगो समाधान खोज्न आग्रह गर्दछौं ।’
ज्ञापन–पत्र नेवाः गुठी, न्यूयोर्क, अमेरिकालगायत नेवाः कल्चरल सोसाईटी अफ अबेर्टा, मेरिल्याण्ड, अमेरिका, वल्र्ड नेवार अर्गनाईजेशन नेपाल कन्ट्री च्याप्टर, वल्र्ड नेवाः अर्गनाईजेशन, मेरिल्याण्ड, अमेरिका, नेपाः पासा पुच अमेरिकाय, मेरिल्याण्ड, अमेरिका, नेवाः गुठी डेनमार्क, नेवाः अमेरिकन दबु, सिकागो, अमेरिका र नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका प्रतिनिधिले संयुक्त रुपमा बुझाएका हुन् ।