न्युयोर्क

पृथ्वी जयन्ती मनाउने एनआरएन–अमेरिकाको निर्णयको चौतर्फि विरोध

न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिकाले पृथ्वी जयन्ती मनाउने तयारी गरिरहँदा उक्त निर्णयको चौतर्फि विरोध सुरु भएको छ । एनआरएन अमेरिकाको उक्त निर्णयलाई पश्चगमनको पराकाष्ठा भन्दै नेपाली डायस्पोराले पत्रकार सम्मेलन गरी विरोध गरेको हो । 
अमेरिकामा पृथ्वी जयन्ती संस्थागत रुपमा मनाउने निर्णयको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लुईसाङ वाईवा तामाङ, नेपाली संघीय समाज अमेरिकाका अध्यक्ष समीर महर्जन, संघीय लिम्वुवान मञ्च अमेरिकाका अध्यक्ष विरेन्द्रहाङ लाबुंग लिम्बु, मधेशी अराउड दि वल्र्डका अध्यक्ष सतेन्द्र साह र सोलिडारिटी फ्रन्ट डेमोक्रेसी ईन नेपालका संयोजक मणि बाङ्देलले संयुक्त पत्रकार सम्मेलन गरेका हुन् । 
‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको पक्षमा हाम्रो प्रतिवद्धता’नारासहित डायस्पोराले एनआरएन, एनसिसि, युएसएको वर्तमान नेतृत्वको घोर विरोध गर्दै यस्तो विवादस्पद राजनीतिक कार्यक्रम आयोजना नगर्न आह्वान गरेको छ । उसले युएसएको वर्तमान नेतृत्वले राजनीतिक विषयवस्तुलाई अंगीकार गरेर अमेरिकी नेपालीहरुमाझ एनआरएनप्रतिको साझा विश्वासमा गम्भीर आँच पु¥याएको हु“दा वर्तमान नेतृत्वलाई विधान बमोजिम कारबाही गर्न समेत माग गरेको छ । 
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेको र नेपाल सरकारले समेत पृथ्वी जयन्तीलाई मनाउन छाडिसकेको अवस्थामा एनआरएन, युएसएको वर्तमान नेतृत्वले यस्तो विवादस्तपद निर्णय गर्नु एनआरएनएको मूल मर्म र मान्यतामाथि कुठाराघात भएको निस्कर्ष निकालेको छ ।
उसले एनआरएनएको विधानको प्रस्तावनामा उल्लेख भएको ‘स्वतन्त्र, गैर नाफामुलक, गैर–राजनीतिक, गैर–सरकारी स्थायी संस्थाको रुपमा एनआरएनलाई स्मरण गर्दै एनआरएन, युएसको वर्तमान नेतृत्वले निजी स्वार्थबाट अभिप्रेति भई उक्त निर्णय गरेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ– ‘पृथ्वी जयन्ती मनाउने एनआरएनको निर्णय सिंगो अमेरिकी डायस्पोरको दृष्टिमा एनआरएनएको प्रतिष्ठालाई धज्जी उडाउने कुचेष्टा वर्तमान नेतृत्वको दुस्साहस हो ।’
त्यस्तै, अमेरिकी नेपालीहरुको एकतालाई विभाजनतर्फ उन्मुख गराउन खोज्ने वर्तमान नेतृत्वको षड्यन्त्र र कुनियतप्रति घोर आपत्ति जनाउँदै यो निर्णय तुरुन्तै फिर्ता लिएर आम नेपाली डायस्पोरासमक्ष माफी माग्न सचेत गराएको छ । विवादस्पद राजनीतिक निर्णयको विरोधमा डायस्पोराले विज्ञप्ति जारी गरी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष शेष घले, महासचिव डा. बद्री केसी र क्षेत्रीय संयोजक (एनआरएनए उत्तर अमेरिका) सोनाम लामालाई बोधार्थ दिएको छ ।