न्युयोर्क

न्यूयोर्कमा ‘सुम्निमा साँझ’ हुँदै

न्यूयोर्क । किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा न्यूयोर्कमा ‘सुम्निमा साँझ’ हुने भएको छ । सोसाईटीले प्रत्यक वर्ष वैशाख र मंसिर पूर्णिमाको दिनलाई उभौली र उधौली पर्वको रुपमा साकेला नृत्यसहित विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

यहिँ डिसेम्बर २३ तारिख शुक्रबारको दिनमा आयोजना गरिएको ‘सुम्निमा साँझ’ को तयारी तिब्र पारिएको आयोजकले जनाएका छन् । कार्यक्रम न्यूयोर्कको क्विन्सस्थित अडिटोरियम् सेन्ट्रो स्पानोलमा हुने भएको छ । जुन ४१–०१ ब्रोड वे, अस्टोरियामा रहेको छ । सोसाईटीले आयोजना गर्न लागेको यो आठौं सुम्निमा साँझ हो । प्रत्यक वर्ष आयोजना गरिने सुम्निमा साँझमा आफ्नो जातिको परम्परा र संस्कृति सम्बन्धि विविध कार्यक्रम हुने गरेका छन् । जसका कारण किरात राईहरुको संस्कृति र परम्परालाई भावी पुस्तामा हस्तान्तरण गर्न टेवा पुगेको छ ।
राई, लिम्बु, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्वका नामले मनाउँदै आएका छन् । दीवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने चलन रहेकाले यो पर्वलाई न्वागी पर्व पनि भन्ने गरिएको छ । क्षेत्री ब्राह्मण समुदायले मंसिर पूर्णिमाको संज्ञा दिँदै गोठ पूजा गर्ने गरेकाले यस पर्वको धार्मिक र सांस्कृतिक महत्व सबै जातजातिमा उत्तिकै रहेको सामाजिक अगुवाहरुको भनाइ छ । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूले धान्य पूर्णिमा, किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका नामले पुकार्छन् ।
किरात जातिले प्राचिन कालदेखिनै खेतिपातिमा आधारित जनजीवनमा लगाएको अन्नबाली पाकिसकेपछि भित्र्याउनु अघि ईष्टदेवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्नवाली अर्पण गर्ने चलन छ । नेपाल सरकारले मंसिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ ।