न्युयोर्क

एनआरएन अमेरिकाद्वारा युवा अन्तरक्रिया

न्यूयोर्क– 'सकारात्मक परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ एनआरएन अमेरिकाको युथ कमिटिले न्युयोर्कमा युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । युथ कमिटी अमेरिकाले विभिन्न राज्यमा रहेका नेपाली युवाहरुका मनमा रहेका विभिन्न समस्यामूलक जिज्ञासा समाधान गर्ने उद्देश्य अनुरुप अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको होे ।  फरक व्यावसायिक पृष्ठभूमिका सबै नेपाली युवा विशेषज्ञहरुको ज्ञान र अनुभव साटासाँट गर्नुका साथै उनीहरुका विचार तथा बहसबाट आगामी रणनीति तय गर्नु पनि अन्तरक्रियाको प्रमुख उद्देश्य रहेको  हाे । 

न्युयोर्कको ज्याक्सन हाईटमा रहेको ओम शान्ति मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कानुनका बारेमा कानुनविद् खगेन्द्र जी.सी., न्यूयोर्क कन्सुलेटबाट कृष्णकुमार सुबेदी, संघसंस्थाका तर्फबाट नेप्लिज अमेरिकन नर्स एसोशियसन (नाना) का अध्यक्ष निमा शेर्पा लगायतले युवाहरुसंग अन्तरक्रिया गर्नुका साथै उनिहरुले सोधेका प्रश्नमाथि स्पष्ट जवाफ दिएका थिए । 

कार्यक्रमका युथ कमिटी न्यूयाेर्कले सामाजिक सञ्जाल, इमेल तथ प्रत्यक्ष सहभागिताका लागि अनुरोध गरेको थियो । सोही बमोजिम सहभागिता जनाएका उनीहरुका प्रश्नहरुको समाधान गरिएको हो । कानुनी र भिसा सम्बन्धि मुद्दाहरूका विषयमा अन्तरक्रिया बढी केन्द्रीत रहेको थियो । कार्यक्रमले कानुनी र भिसा सम्बन्धि देखिएका समस्याहरुको समाधानाका लागि हुने तरिकाहरु के के हुन सक्छन् भन्ने विषयमा जानकारी दिएको थियो । कार्यक्रममा झन्डै पचास युवाको सहभागिता रहेको थियो ।  

यस कार्यक्रले आफूहरु लाभान्वित भएको, आफूले भोगेका समस्याहरुको समाधानको उपायबारे सहज रुपमा जानकारी लिएको कार्यक्रममा उपस्थित युवाहरुले बताएका थिए । उक्त कार्यक्रमको सञ्चालन वर्षा मोक्तानले गरेकी थिइन भने स्वागत मन्तव्य एनआरएन बोर्ड म्याम्मर तथा न्यूयोर्क च्याप्टरका कम्प्युटर साइन्स डाइरेक्टर विजयमान सिंहले राखेका थिए । एनआरएनए बोर्ड म्याम्मर अमेरिका युथ फोरमका सदस्य स्वराज खातिले कार्यक्रममा सहभागीहरुलाई विशेष धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्नु सम्पूर्णप्रति आभार प्रकट गरे ।

 एनआरएन युथ अमेरिकाले हरेक सम्भावना र विकासका लागि कानुनी तवरबाटै युवाहरुलाई शिक्षा प्रदान गर्नुका साथै, विभिन्न समस्याहरुको समाधानको लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।