न्युयोर्क

न्यूयोर्कमा नेपाली स्कूलको सुरुवात

न्यूयोर्क । जब आफ्नै सन्तानले मातृ भाषा बोल्न छोडेपछि कसलाई राम्रो लाग्छ र ? भावना र भाषा परिपुरक जस्तै हुन् । जव आफूले भन्न खोजेको कुरा आफ्नै सन्तानले नबुझेपछि भावनामै चोट पुग्दो रहेछ । आत्मियता त्यतिबेला हुन्छ, जतिबेला दुबैजनाको भाषा मिल्छ । ‘हजुर आमाले भन्न खोजेको कुरा नातिले नबुझ्ने र नातिनीले भन्न खोजेको हजुर बुवाले नबुझेपछि कसरी साट्नु माया अनि भावना ।’ हो, यो पीडा अहिले अमेरिकामा रहेका अधिकांश नेपालीहरुले भोग्नु परेको छ । यहिं पीडालाई कम गर्न अहिले न्यूयोर्कमा नेपाली भाषा स्कूलको सुरुवात भएको छ ।
समाजसेवी, गीत तथा गजलकार पद्मा लिंखा मगर र व्यवसायी तथा समाजसेवी सरस्वती राईको पहलमा न्यूयोर्कको ज्याक्सन हाईटमा दुई महिनादेखि नेपाली भाषा स्कूलको सुरुवात गरिएको हो । उक्त भाषा स्कूल प्रत्यक आईतबार विहान ९ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन हुने गरेको छ । स्कूलमा अहिले १२÷१५ जना बालकालिकाहरुले नेपाली भाषा अध्ययन गरिरहेका छन् । उक्त स्कूलमा ६ वर्षभन्दा माथिका बालकालिकाहरुलाई नेपाली भाषा सिकाईने गरिएको छ । स्कूलका लागि इन्टरनेशनल मार्सल आर्टले निःशुल्क हलको व्यवस्था गरेको छ । यदि तपाईहरु पनि आफ्ना बालकालिकाहरुलाई नेपाली भाषा सिकाउन चाहनु हुन्छ भने पद्मा लिंखा मगर (७१८–९०९–३४२७) र सरस्वती राई (३४७–४४५–८५५९) मा सम्पर्क गर्न सक्नुहुनेछ ।