न्युयोर्क

एनआरएन नवौं क्षेत्रीय सम्मेलनमा कसले के भने ?

न्यूयोर्क– अमेरिकाको न्यूजर्सीमा जारी एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अाइतबार समापन हुँदैछ । न्यूजर्सीमा शनिबार भव्यरुपमा उद्घाटन गरिएको सम्मेलनका वक्ताहरुले विभिन्न प्रतिवद्धता व्यक्त गरेका छन् । सम्मेलनमा संघले आगामी ४ बर्षमा सम्पन्न गर्ने विभिन्न कार्यक्रमहरुको गुरुयोजना स्वरुप ‘भिजन २०–२० एण्ड बियोण्ड’ विषयमा वृहत्तर छलफल गरिएको छ ।  विश्वका विभिन्न ७४ देशमा स्थापित अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) र राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको प्रगति विवरण पनि कार्यक्रममा मातहतका प्रतिनिधीहरुले जानकारी गराएका छन् । 

‘नागरिकताको निरन्तरता फोरम’मा नेम्वाङको भनाइ–

नवौं क्षेत्रीय सम्मेलनमा नेपालबाट प्रमुख अतिथिको रुपमा सहभागी भएको पूर्व सभामुख एवं एमाले नेता सुबास नेम्बाङले अंगीकृत नागरिकताको विषयमा चर्चा गरे । उनले नेपालमा विवाह गरेका ३ हजार भन्दा धेरै भारतीय महिलाहरुले संविधानमा भएको व्यवस्था अनुरुपना अंगीकृत नागरिकता प्राप्त गरेको जानकारी दिँए । 

 नेपाल र भारतको प्रसंग जोड्दै नेपाली महिला भारतमा विवाहित छिन् भने उनले नागरिकता पाउन सात वर्ष लाग्ने तीतो यथार्थ पोखे । तर, भारतीय चेली नेपालमा विवाहित छिन् भने नेपाल सरकारले प्रक्रिया पूरा गरी ७ दिनमा उपलब्ध गराउँदै आएकोमा गर्ब गरे । त्यस्तै, नेपालीसँग विहे गरेकी भारतीय चेलीहरु नेपालको संसदमा १२ जना रहेको समेत जानकारी गराए । हालै नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनेकी सीतादेवी यादव पनि अंगिकृत भएको भन्दै नेपाल सरकारले अंगीकृतहरुको उचीत सम्मानमा कुनै कन्जुस्याइँ नगरेको समेत दाबी गरे । 

त्यस्तै, उनले एनआरएनहरुलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने विषय संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धी भएको बताए । गैर आवासीय नेपाली नागरिकताको माग पूरा भएकोमा उनले एनआरएनलाई बधाई समेत दिएका थिए । 

अध्यक्ष घलेले के भने ? 
नवौं क्षेत्रीय सम्मेलनमा एनआरएनए अध्यक्ष शेष घलेले आफ्नै कार्यकालमा काठमाडौंमा एनआरएनएको भवन निर्माण हुने प्रतिवद्धता व्यक्त गरे ।  उनले वर्तमान कार्यसमितिकै कार्यकालमा भवन निर्माणको काम पूरा हुने भन्दै भवन निर्माणका लागि अहिलेसम्म १३ करोडको जग्गा किनिसकिएको र २६ करोडको लागतमा भवन निर्माण पूरा हुने जानकारी दिए ।
भवन निर्माणका लागि अहिलेसम्म ९ करोड संकलन भइसकेको र बाँकी रकम पनि छिट्टै संकलन हुने उनले बताए । नवौं क्षेत्रीय सम्मेलनको नाफा रकम भवन निर्माणका लागि खर्च गरिने यसअघि नै जानकारी दिइसकिएको छ । 

भूकम्प पीडितको घाउमा मल्हम
सम्मेलनमा २०७२ बैशाख १२ गते नेपालमा गएको विनासकारी भूकम्पबाट पीडित बनेको नेपालीहरुको घाउमा मल्हम लगाउने काम पनि भएको छ । भूकम्प पीडितहरुका लागि घर बनाउने एनआरएनको अभियानमा सहयोग गर्ने सहयोगी हातहरु पनि जुटिरहेका छन् ।

भूकम्प पीडितका घर बनाउनको लागि एनआरएनको अभियानमा नेपाली अमेरिकन सेन्टरले ३६ हजार अमेरिकी डलर (झण्डै साढे ३८ लाख रुपैयाँ) सहयोग हस्तान्तरण गरेको छ । सम्मेलनमा सेन्टरका उपाध्यक्ष रमाकान्त खरेलले उक्त रकम बराबरको चेक एनआरएन अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरेका हुन् । 

यसैबीच,  एनआरएनले भूकम्पपीडितका लागि बनाउने १ हजार घरका लागि ५० करोडको हाराहारीमा लागत लाग्ने अनुमान गरिएको छ । उक्त रकम जुटाउन सम्मेलनले सहयोगका लागि आग्रह समेत गरेको छ । अहिले एनआरएनएको खातामा ३५ करोड रकम र त्यसको १ करोड ब्याज सहित झण्डै ३६ करोड रकम रहेको अध्यक्ष घलेले जानकारी गराएका छन् ।

तस्बीरः प्रदीप परियार थापा