विचार

अग्नी परीक्षामा एनआरएन अमेरिका

शैलेश श्रेष्ठ
काम गर्न नसके पनि अमेरिकी हेजेमिनिक दम्भ प्रदर्शन गर्न गैर आवासीय संघ राष्ट्रिय समन्वय समिति अमेरिका बर्षै भरि सफल भएको छ । यसले निक्कै ढिलो हिडेर पनि छिटो गन्तब्यमा पुगेको हो कि भन्ने आम भ्रम सिर्जना समेत गरेको छ । 

तर गणितमा बाहेक अमेरिकाले केहीमा बाजी मार्न सकेको छैन । टुक्रिनु एनआरएन अमेरिकाको नियत अनि नियती दुबै हो । त्यसरी अमेरिका बस्दा होस् या केन्द्र कब्जा गर्ने शंखनाद गर्दै नेपाल पुगेको टोली अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लंदा तीन खेमामा विभाजित हुन्छ ।  त्यस्तो पुरानो रोगको बारम्बार पुनारावृत्ति हुने गरेको छ । करिब दुई बर्ष अघि भवन निर्माणको लागि सहयोग रकम संकलन गर्न अध्यक्ष शेष घले अमेरिका आएको बखत सम्प्रेषणसंगको वार्तालापमा उनले भनेका थिए ‘अमेरिकाको सम्भावना त अथाह र मैले सोंचेको भन्दा पनि कैयौं गुणा बढी रहेछ ।’ उनले अमेरिकाबासीहरुले भेला र समारोहहरुमा भवन निर्माणको लागि कबुल गरेको रकम र रफ्तार देखेर त्यसो भनेका थिए । तर पछि बोलेको बचन पूरा नगर्नेमा पनि हामी यानेकि अमेरिका नै पर्यौ । त्यति हुँदा पनि हामीलाई अलिकति पनि लाज अनि शरम भन्ने कुरो हुँदैन । 

सतहमा उन्मुक्त रमाउँछौं संसारकै सबैभन्दा धेरै सदस्य संख्या भएको राष्ट्रिय समन्वय परिषद हामी हौँ भनेर । तर आन्तरिक संगठन, नेतृत्व विकास तथा आपसी मेलमिलाप गर्ने सवालमा कहाँ अनि कसरी चुक्यौं भनेर कहिले पनि गहन अनि समयसापेक्ष समिक्षा गर्दैनौं । उक्त वार्तालापमा शेष घलेले भन्नु भएको अर्को लाईनको म स्मरण गरिरहेको छु, उनले भनेका थिए– ‘दशक पूरा गरेपनि एनआरएनए मुस्किलले मुभमेन्टसम्म त भएको छ, तर ईन्ष्टिच्युसन चाँही बन्न सकेको छैन ।’ अब एउटा अहम् सवाल अनि यक्ष प्रश्न दोश्रो कार्यकालको केही महिना हाँकी रहेका वर्तमान अध्यक्ष शेष घले तर्फ नै फर्कन्छ,– ‘घले ज्यु, थुप्रै अनावश्यक हर्कत अनि नेताहरुको कोठा–कोठा धाएर जित हाँसिल गर्नु भएपछि यो संस्थालाई तपाई आफैले परिकल्पना गर्नु भएको जस्तो ईन्ष्टिच्युसन बनाउन के के गर्नु भयो त ?’ उनि र उनका अन्धभक्तहरुसंग एउटा सिधा जवाफ छ, उहाँले आफ्नो करोडौं रुपैयाँ भूकम्प पीडितको उद्धार अनि सहयोगको लागि दिनुभो, अनि यस्तो गर्नु भो उस्तो गर्नु भो आदि ईत्यादि । तर दुई कार्यकालपछि उनले यो उच्चतम पद छाड्दा अरु कोही ऐरे गैरेले सम्हाल्दा पनि स्वतस्फुर्त गतिशील भएर प्रगतिपथमा जाने प्रारूप अनि पद्धति भएको संगठन शेष घलेले बनाए कि बनाएनन् त्यो चाँही कुरोको चुरो अनि अन्त्यमा खोजिने अहम् सवाल हो । हामीले नखोजे पनि उनले आफूले आफूभित्रै यो अहम् सवालको जवाफ खोज्नु पर्छ ।  पैसा नहुनेहरुले यो संगठनमा नआए हुन्छ भन्ने पुरातन बनिबनाउ चल्तीको बोली केही टाठाबाठा ब्यापारीहरुले यो संगठनको स्थापना देखिने उराले जसको कारण यो संगठनमा बुद्धि हुनेहरु भन्दा पनि पैसा हुने ब्यापारीहरुको मनमोजी भींड बढ्यो ।
त्यो हविगत अहिलेसम्म पनि तलदेखि माथिसम्म नै यथावत छ । त्यस अर्थ अनि परिभाषामा काठमाडौँमा प्रत्येक दुई बर्षमा हुने सम्मेलन र नेतृत्व छनौटको चरण र प्रक्रियालाई ‘कुम्भमेला’ को नाम दिईयो । जहाँ युरोप, अष्ट्रेलिया, उत्तर अमेरिकाका निर्वाचन जालसांचका पारंगतहरुको बहुआयमिक टोलीहरु मातृभूमि पुग्दछन्, तिनको अभिष्ट एनआरएनको सम्मेलन मात्र हुँदैन नियत पशुपतीको जात्रा सिद्राको ब्यापार हुन्छ । ति अन्तरदेशीय टोलीका कैंयन सदस्यहरु चुनाबी उच्च मक्सद अनि अभिष्ट राखेकाहरुको प्रयोजनमा कुम्भमेलामा पुग्ने गरेको समेत लख काट्ने गरिएको छ । विगत केही बर्षदेखि यो संगठनलाई धरासायी अनि कमजोर बनाउन आफ्नो राजनैतिक स्वार्थ अनि अभिष्ट पूरा गर्ने कुनियत राजनीतिका गुट र फुटमा रमाएका गोटीहरु पनि सक्रियरुपमा परिचालित हुनथालेको छ । न्यायिक परिषद्को सिफारिसमा बिधानमा राजनैतिक लाफ्फबाजी अनि दलगत खेल रोक्ने स्पष्ट प्राबधान भए पनि नेतृत्वको फितलो अडान अनि ढुलमुले नीतिका कारण अहिले केन्द्रदेखि राष्ट्रिय समन्वय परिषद्हरुमा नेपालको माउ पार्टीमा भात्री संगठनका कार्यकर्ताहरुको घुसपैठ अनि चलखेल बढ्न थालेको छ । हामीले दम्भ बोल्ने गरेको एनआरएन अमेरिका सिधा अनि देखिने गरि कांग्रेसीजनको कब्जामा पुगेको छ  । 
निर्वाचनप पूर्र्व र त्यस पछिका कैंयन घटनाक्रमहरुले त्यो सत्यको पुष्टि गरेको छ ।  एनआरएन अमेरिका जति छोप्यो उति नाङ्गो देखिन्छ । त्यस्तो नग्नताको पराकाष्टको अन्त्यको लागि नेतृत्वपंक्तिले यथेष्ट काम अनि समन्वय गर्न सकेको छैन । अहिलेको देखिने सूचना अनि संचारको युगमा हामीमा समस्यै छैन भन्नु भन्दा त्यसको निदानको उपायहरु अबलम्बन गरिन चाँही जरुरी छ । मुद्दामामिला र अन्य कैंयन झमेलाहरुले एनआरएन अमेरिकाको उदीयमान ईमेजलाई अहिले धुमिल बनाइदिएको छ, तर अब नेतृत्वले ठूलो चित्त गरेर सबैलाई समेटेर अगाडि बढ्ने हो भने न्यूजर्जी राज्यमा यही महिनाको २७ र २८ तारिख हुने नवौँ क्षेत्रीय सम्मेलन एकताको लागि अनुपम अवसर हुन सक्छ । तर, यस्तो बिराट अवसरको सम्भावनालाई पनि नजरअन्दाज गरेर मेरो गुट र तेरो गुट भन्न थाल्यौं भने पुनः हाम्रो भागमा त्यहि कर्मकाण्डी हेजेमोनिक दम्भ बाहेक कहिँ पनि पर्दैन ।
न्युजर्जीमा हुने नवौँ क्षेत्रीय सम्मेलनले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ को ‘एनआरएनए भिजन २०२० एण्ड बियोन्ड’ को परिकल्पना अघि सरेको छ । यो परिकल्पनाले मातृभूमी र कर्मभूमीलाई फराकिलो अर्थमा जोड्ने छ । जहाँ अन्तरदेशीय दिगो बिकासका अवधारणा अनि आपसी उद्यमशीलताको प्रत्येक सम्भावनाहरुको आयामिक खोजी गर्नेछ । एनआरएन अमेरिकाले कुन हदसम्मको साँचो अर्थको एकता प्रदर्शन गर्न सक्षम हुन्छ, यो क्षेत्रीय सम्मेलनको सफलता त्यसैमा निर्भर गर्दछ । त्यही अर्थमा यो सम्मेलन हाम्रो लागि अग्नि परीक्षा हो ।  यो परीक्षामा सामान्य अंक सहित पास मात्र हुने भन्दा पनि उच्चतम अंक सहित बिशेष श्रेणीमा उत्तीर्ण हुने असीम लक्ष्य हामी सबैको हुनुपर्दछ । 
Email: info@sampreshan.org