विचार

माटो सुहाउँदिलो शिक्षा आजको आवश्यकता

दिपा आले
एक विद्वानले भनेका छन्–“एक वर्षका लागि हो भने धान रोप । एक दशकको लागि हो भने रुख रोप । एक शताब्दीको लागि हो भने जनतालाई शिक्षित गर ।” नेपाल एउटा विविधताले भरिएको देश हो जहाँ विभिन्न जातजाति भाषाभाषी, धर्म संस्कृति छ । जसको आफ्नै मौलिकपन छ । 
तर नेपालमा बसोबास गर्ने सबै नेपालीको आफ्नै भाषा र संस्कृति भए तापनि राज्य एकीकरण गर्ने समयदेखि आजसम्म पनि एकल भाषामा बोल्न बाध्य बनाइएको अवस्था आज पनि व्द्यिमान छ । किन की राज्यदेखि पछाडि पारिएका आदिबासी जनजाति, दलित, मुस्लिम, मधेशी र सीमान्तकृत, कर्णाली प्रदेशका जनताहरुको आवाजमा अंकुश हिजोदेखि आजको यो अवस्थासम्म पनि लगाइ रहेको छ । त्यसकारण यति बेला धान र रुख होइन गुणस्तरीय शिक्षाको आवश्यकता छ । जुन शिक्षा नीतिले देशको माटो अनुसार आफ्नै स्वदेशमा काम गर्न सक्ने वातावरण सिर्जना होस् ।
राज्यदेखि पछाडि परेका विभिन्न जातीय संघ–संस्थाहरु छन् । जसले देशको माटो अनुसार अबको शिक्षा नीति हुनुपर्छ भनेर क्रियाशील भएर लागेका छन् । उनीहरुले आफ्नो भाषा, धर्म, संस्कृति र पहिचानको लागि आवाज उठाउँदै अघि बढिरहेका छन् । ती समुदायले विशेष गरी आफ्नै मातृभाषामा आधारभूत शिक्षा मात्र नभएर उच्च शिक्षा हासिल गर्ने वातावरण सरकारले संवैधानिक तवरबाटै व्यवस्था मिलाउन आवाज उठाइ रहेको छन् । जसरी राज्यले संस्कृतिमा विश्वविद्यालयको ग्यारेन्टी गरे जस्तै अन्य जातीय समुदायको पनि मौलिक भाषामा देशको माटो अनुसार शिक्षा नीति हुनु पर्ने माग गर्दै आएका छन् ।
वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२३ भाषाहरु छन् ।  मातृभाषा पहिलो भाषाको रुपमा बोल्ने गरिन्छ ।  यहाँ धेरै जातजाति, समुदाय, धर्मका मानिसहरू बसोबास गर्छन् । सबै समुदायका आ–आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन । जसले गर्दा उनीहरु आफूले बोलेको मौलिक भाषामा उच्च शिक्षा हासिल गर्न चाहान्छन् । त्यो वातावरण राज्यले दिन सकेको छैन ।  एउटै भाषामा ती समुदायका मानिसहरुलाई बोल्न, अध्ययन गर्न बाध्य बनाइएको अवस्था छ । यसकारण नेपालमा माटो अनुसार शिक्षा नीतिको ज्ञान पाउन सकेको अवस्था देखिदैन । जसले गर्दा विभिन्न अवसरहरु पनि गुमाउनुपरेको छ । पछाडि परेका समुदायको अवस्था अहिले पनि पछाडि नै छ । देशमा लोकतान्त्रिक संघीय गणतन्त्र आए तापनि कानुनी तवरमा मात्र छ तर व्यवहारमा आज पनि जहाँको त्यहीँ देखिएको अवस्था छ । आज नेपाली युवाहरु आफ्ना डिग्रीका सर्टिफिकेट दराजमा थन्काएर विदेशमा पसिना बगाउनुपर्ने अवस्था सिर्जना हुनुका पछाडि पनि यस्तै कारणहरु लुकेका छन् । यसतर्फ पनि राज्यको ध्यान केन्द्रित हुनु जरुरी छ । 
उदाहरणका लागि  मगर समुदाय जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति भित्र पर्दछ भने आदिबासी जनजातिमा पहिलो जाति नै हो । जनसंख्याका हिसाबले सन् २०१२ को जनगणनाको तथ्यांकलाई आधार मान्ने हो भने मगर १८ लाख ८७ हजार ७ सय ३३ रहेका छन् । नेपालको कुलसंख्याको आधारमा हेर्नु पर्दा ७.१२% हुन आउँछ । जनसंख्यामा ठूलो जाति भए तापनि मगर समुदायको शिक्षाको अवस्था हेर्नुपर्दा दुःखदायी र टीठलाग्दो छ । सन् २०१२ को राष्ट्रिय जनगणना अनुसार ५ वर्ष वा सो भन्दा माथि ७१.०९ झण्डै ३०% मगरहरु निरक्षर छन् । कक्षा १ देखि ८ सम्मको आधारभूत तह शिक्षा पूरा गर्ने मगरहरुको संख्या ७३.६८% रहेको छ । त्यसैगरी कक्षा ९ देखि १२ को माध्यमिक तहको शिक्षा पूरा गर्ने ३१% देखिएकोमा २४.९४% प्रतिशत माध्यमिक तहको शिक्षा उर्तिण गरेका छन् । त्यसैगरी स्नातक वा सो भन्दा माथिको उच्च शिक्षा हासिल गर्ने मगरहरु जम्मा १.३४% मात्र रहेको अवस्था छ । 
अझ आफ्नै मातृभाषाको कुरा गर्नुपर्दा मगर समाजमा विशेष गरी  परम्परादेखि तीन वटा भाषा बोल्ने गरेको पाइन्छ । मगर काइके, मगर खाम तथा मगर ढुट भाषा । सन २००१ केन्द्रीय तथ्यंक  विभागका अनुसार मगर भाषा बोल्नेहरुको  संख्या जम्मा ४७.५% थियो । सन २०११ सालमा सो संख्या घटेर जम्मा ४१.७७% पुग्न गएको अवस्था छ । सन २०१२ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या मध्ये ४४% ले नेपाली भाषा बोल्दछन् भने मगर भाषा बोल्नेहरुको संख्या जम्मा ३% मात्र छ । सो मध्ये काइके भाषा बोल्ने ०.१% मगर खाम भाषा बोल्ने ३.३% मात्र रहेको छ । 
यसरी दिनदिनै मगरहरु आफ्नो मौलिक भाषा बोल्नेमा कमी आएको छ । यसको उपज भनेको सरकारले मगर भाषाको अध्ययन र अध्यापनको लागि  सुविधा र समुचित व्यवस्थामा ध्यान नदिनु पनि पहिलो कारण हो । त्यसैगरी दोस्रो कारण भनेको बसाई सराई हो । जसले गर्दा मगर समुदायका सन्तानहरुले आफ्नै मातृभाषा बोल्नबाट बञ्चित हुनु परेको छ । त्यसैगरी तेस्रो कारण भनेको आजका नयां युवा मगर पुस्ताहरु आफ्नो भाषाप्रति रुची नराख्नु पनि हो । 
शहरी क्षेत्रमा १२ प्रतिशत मगरहरु मात्र बसोबास गर्दछन् भने ८८ प्रतिशत मगरहरु अहिले पनि ग्रामिण भेगमा बसोबास गर्दै आएका  छन् । विगतदेखि अहिलेको वर्तमान अवस्थामा आइसक्दा समेत मगर समुदाय  हरेक क्षेत्रमा पछि पर्नुको मुख्य कारण पनि उच्च शिक्षा र जनचेतनाको अभाव नै हो । उच्च शिक्षाको कमिले गर्दा सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक, प्राज्ञिक क्षेत्रमा पछाडि पर्नुपरेको अवस्था छ । आर्थिक पक्षमा कमि भएका कारण नै मगर समुदायहरु उच्च शिक्षा हालिस गर्न सकेको अवस्था छैन भने अर्को तिर राज्य समेत मगर समुदायलाई उच्च शिक्षा तिर बढाउनको लागि उदासिन देखिएको छ । मगर समुदायका व्यक्तिहरु धेरै जसो ग्रामीण दुर दराजमा बसोबास गर्ने भएको हुंदा गास, बास र कपासको जोहो गर्न खाडी मुलुक तिर जानुपर्ने अर्को बाध्यता छ । जसले गर्दा ती समुदायका व्यक्तिहरु उच्च शिक्षा हासिल गर्नबाट पछाडि परेका छन् । 
त्रिभुवन विश्वविद्यालयको सन् २०१० सम्मको विवरण हेर्दा कुल  ५ हजार ७ सय २१ प्राध्यापक मध्ये ३७ जना मात्र मगरहरु छन् । यसरी मगर समुदायको शिक्षामा कमि आउनु मगर संघ संस्थाहरुको ध्यानाकर्षणमा कमि र शहर केन्द्रीत हुनु पनि एक कारण हो । त्यसैगरी आर्थिक पक्षको विषयमा कुरा गर्नुपर्दा सन् २०१२ को जनगणनाले ८१.६८% मगरहरु कृषि तथा गैर सीप मुलुक पेशामा आबद्ध छन् । दक्ष प्राविधिक, व्यवस्थापक जस्ता व्यवसायीक पेशामा ४.५२% मगरहरु मात्र रहेको तथ्यांकले देखाउछ । 
मगर समुदायको शिक्षामा विकास नहुनुको मुख्य जड भनेको केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको अभ्यासको कारण शैक्षिक संस्थाहरु अधिकांश शहर केन्द्रीत हुनु  हो । मातृभाषामा शिक्षा आर्जन गर्ने व्यवस्था प्रभावकारी नहुँदा विद्यालय तहको आधारभूत शिक्षामा मगरहरुको उपस्थितिलाई प्रभाव पारेको छ । अझ मगर भाषा मात्र बोल्ने गाउँहरुमा एकल खस भाषा नीतिले गर्दा त्यसको शिकार मगर समुदाय मात्र नभएर आफ्नै मौलिकपन बोकेका जातीय समुदायहरु बन्नु परेको छ । यो त एउटा हाम्रो देशको उदाहरण मात्र हो यी मगर समुदाय जस्तै अन्य धेरै जातीय समुदायका आ–आफ्नै पीडा छन् । उनीहरु सबै आफ्नो मौलिक भाषामा उच्च शिक्षा हासिल गर्नबाट बञ्चित छन् । 
मगर समुदाय राज्यको मुख्य तह र तप्कामा पुग्न नसक्नु सांस्कृति, भाषिक र ऐतिहासिक पक्ष कमजोर भएर पनि हो ।  हाम्रो पुर्खाले आर्जन गरेको सांस्कृतिक पक्षलाई अहिलेसम्म पनि राज्यले संरक्षण गर्न सकेको अवस्था छैन । त्यसैगरी विगतमा मगर समुदायको भाषामाथि एकलबादी सोंच भएका शासन र सत्ताले अंकुश लगाएपछि मगर समुदायहरु आफ्नो भाषा बोल्नबाट बञ्चित हुनु प¥यो जसको असर अहिले देखिएको छ । मगर समुदायका ऐतिहासिक कला संस्कृति, चाडपर्वहरुलाई एकात्मकबादीहरुले दमन गरेपछि मगर समुदाय आफ्ना भाषा, धर्म संस्कृतिबाट विमुख हुनु प¥यो जसको कारण आज राज्यको हरेक निकायमा न्यून पहुँच रहेको छ । 
निरंकुश तानाशाहावादले जब मगर समुदायको अस्तित्व माथि खेलवाड गर्दै एक भाषा, एक धर्म बनायो तबदेखि मगर समुदाय त्यसको विरुद्ध लागि प¥यो । आफ्नो भाषा, धर्म, संस्कृति पहिचानको लागि वर्षौदेखि लड्दै आन्दोलन गर्दै आइरहेको छ । २०६२÷०६३ को जनआन्दोलन प्रश्चात नेपाली जनताले केही हदसम्म भए पनि आफ्नो अस्तिव्व पाउन सफल भएका छन् । विशेष गरी राज्यदेखि पछाडि पारिएका आदिबासी जनजाति, दलित, सीमान्तकृत अल्पसंख्यक समुदाय, कर्णाली क्षेत्रका जनताहरुले आफ्नो हक अधिकारकोलागि आन्दोलनमा होमिए पश्चात आज देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । 
हाम्रो देशको माटो अनुसार बैज्ञानिक व्यवहारीक र प्राविधिक शिक्षा नीति नभएको हुंदा हातमा डिग्रीको सर्टिफिकेट भए पनि त्यसलाई थन्काएर विदेशी भूमिमा काम गर्न जाने बाध्यता छ । आज बाध्य भएर ३८ लाख भन्दा बढी नेपाली युवाहरु विदेशी भूमिका पसिना बगाइ रहेको अनुमान छ । त्यसको मार नेपाल र नेपाली जनताले भोग्नु परेको छ । तर सरकार भने मुकदर्शक भएर टुलुटुलु हेरिरहेको आजको वर्तमान अवस्था हो । त्यसैले यति बेला राज्यदेखि पछाडि परेका समुदायले देशको माटो अनुसार शिक्षा नीति, बैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा तथा रोजगारमूलक हुनु पर्दछ भनेर लामो समयदेखि राज्यलाई दवाव दिर्दै आएको छ । यस शिक्षा नीतिको विषयमा आदिबासी जनजाति विद्यार्थी संगसंगठनहरुसँग मात्र होइन अन्य राजनीतिक विद्यार्थी संघ संगठनसँग सहकार्य गरेर समेत अगाडि बढ्ने पहल गर्दै आएको छ । नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुपहिचानयुक्त संघीय लोकतान्त्रक देश हो । त्यसैले एकल भाषाको मात्र विश्वविद्यालय होइन बहुभाषिक विश्व विद्यालयको माग हाम्रो संघले सरकार समक्ष गर्दै आएको छ । यस तर्फ सरकारको ध्यान तत्काल जानुपर्छ । जबसम्म देशमा बहुभाषिक विश्व विद्यालय बनाउन सरकारले पहल गर्दैन तबसम्म हाम्रो संघले खबरदारी एवं आन्दोलन गरिरहनेछ । देशभर क्रियाशील राज्यदेखि पछाडि परेका विद्यार्थीहरुले यस्ता विषयमा क्रियाशील भई आफ्ना माग र मुद्धामा एकताबद्ध भएर सरकार समक्ष आवाज बुलन्द पार्न लाग्नुपर्दछ । राज्यले पनि यो विषयलाई महत्वकासाथ लिएर लिएर अबको शिक्षा नीतिलाई देशको माटो अनुसार बनाउन अग्रसर हुनुपर्दछ ।