दीपा आले
भनिन्छ पूर्वबाट उदाउँने सूर्य अन्त्यमा गएर क्षितिजमा अस्ताँंछ । क्षितिजलाई खोज्दा खोज्दै मानिसको भौतिक शरीर एक दिन समाप्त हुन्छ । जसरी सूर्य पूर्वबाट उदाएर पश्चिम हुँदै क्षितिजमा हराउँछ । किनकि यो प्रकृतिको नियम हो । मानिस जन्मिएपछि एक दिन मृत्यु निश्चित छ ।
विश्वमा अब रातको संस्कृति पूर्ण अन्त्य हुँदै दिवाप्रकाशीय संस्कृतिको जन्म हुँदैछ । अझ संसारको लागि निर्णायक दिन नजिकिँदैछ । भन्नुको तात्पर्य अन्तिम निर्णय आउँदैछ । रात्रि युगको अन्त्यसँगै दिवाप्रकाशीय युग सुरु हुँदैछ । हामी त्यति नास्तिकवाद पनि छैनौं ताकि हाम्रो धर्म संस्कृति र पहिचानलाई बिर्सिएर पाखा लगाउने । साँच्चै भन्नुपर्दा आफूले मान्दै आएको धर्म होस् या अरुले विश्वास गर्दै आएको धर्म होस् एक पटक सबै धर्मशास्त्रलाई अध्ययन गर्ने हो भने यो संसारलाई उद्धार गर्ने एक मात्र व्यक्ति हुनु हुन्छ जो हामीले भगवान भनेर बुझदछौं ।
प्रायः सबै धर्मशास्त्रले लेखेका छन्– अब यो संसारमा अन्तिम निर्णय आउँदैछ । चाहे त्यो हिन्दू धर्म किन नहोस् या त क्रिश्चियन धर्म, इस्लाम र बौद्ध धर्म किन नहोस् । अन्तिम निणर्यको समय अग्नि शक्तिद्वारा प्रत्येक मानिसलाई न्वारन गरिनेछ । भन्नुको मतलब मानिसको आत्मामा लागेको बादललाई सूर्यको शक्तिले शुद्धिकरण गरिनेछ ।
मानिसका मनमा थुप्रिएका पापहरु पखालिनेछ । चाहे त्यो औषधी सेवन गरेर होस् या त लोभी–पापी, दुष्ट, भष्ट्रचारी, अनैतिक कार्य गर्ने, अरुलाई दुःख दिनेहरुलाई अग्नितत्वले न्वारान गरिनेछ । त्यो समय भगवानले मानिसलाई बचाउँन खोज्दा खोज्दै पनि धेरै पाप गरेका मानिसहरु धर्तिमा बाँच्न सक्ने छैनन् । किनकी अन्तिम निर्णयमा जो मानिस सत्य, इमान्दारीताका साथ अरुको सेवामा निस्वार्थ भावनाले सेवा गर्छन्, त्यस्ता मानिसहरुलाई भगवानले बचाउनुहुनेछ । जसरी महा भुकम्पबाट तपाई हामीले नयाँ जीवन पाएका हौं ।
माथि यतिका भूमिका लेखेकले किन थुपारेको होला भनेर पाठकहरुलाई जिज्ञासा लाग्न सक्छ । ताकि तपाई हामीलाई बुझ्न सहज र सरल होस् भन्ने हेतुले भूमिकासंग पैठेजोरी खेल्नु परेको हो । तपाई हामीलाई थाहा भएकै कुरो हो आज हाम्रो समाज कता तिर गइरहेको छ ? घरपरिवार समाज र देशमा के–के गतिविधि भइरहेको छ ? हामी मानिसहरुमा मानवताबाद छ कि छैन ? हामीभित्र दया माया छ कि छैन ? यी सामान्यभन्दा सामान्य कुराहरुलाई आजको दिनमा सुक्ष्म ढंगले मध्येनजर गर्नुपर्ने अवस्था आएको छ ।
हामीले समाजमा देखिरहेका छौं आज दिन दाहाडै मानिसहरुलाई गोली हानी हत्या गरिएको छ । कतै चक्कु र भाला रोपेर मारिएको छ भने कतै बलात्कृत चेलीका विलौना सुनिन्छ । यी र यस्तै जगन्य अपराधमा मानिस सक्रिय रहेको पाइन्छ । यस्तो किन भईरहेको छ ? तपाई हामीले पक्कै पनि मनमनै सोचिरहेका छौं होला । कतिपयले लेखेर आफ्नो विचार अभिव्यक्ति गर्छन् भने कोहीले आफ्नै मनमा गुम्स्याएर राख्ने गर्दछन् । यसरी चुप लागेर बस्नु ठिक हो त ? त्यति मात्र होइन आज हाम्रो समाज कता तिर गइरहेको छ ? चिन्ताको विषय बनेको छ ।
नेपाल र नेपालीको आफ्नै मौलिकपन छ । नेपाल एउटा आफ्नै भाषा, धर्म संस्कृति र पहिचानले भरिएको देश हो । एकता भित्र विविधताले भरिएको सुन्दर राष्ट्र हो । यहाँ बहुभाषा, बहुधर्म, बहुसांस्कृतिक, बहुजातीय समुदायले बसोबास गर्ने देश हो । आज हामी देख्दैछौं यस्तो देशमा जन्मिएका हामी नेपालीले हाम्रो पहिचानलाई कसरी गुमाउंदै छौं त ? मौलिक संस्कृतिको नाममा विकृति भित्रिदैछ । विकृति भित्रयाउने भाइरस को त ? आज यसको बारेमा छलफल र बहस गर्नुको साटो एकअर्कालाई टिकाटिप्पणी गर्दै नाङ्गेझार पार्ने काम भइरहेको छ ।
एक नेपालीले अर्को नेपालीको आत्मा सम्मानलाई ठेस पु¥याइएको छ । आज परिवारसँग बसेर हासीखुशी हेरिने कुनै त्यस्तो फिल्म छैन । फिल्ममा देखाइएका अस्लील चित्रहरु हेर्दा लाजले मुख छोप्नुपर्ने अवस्था छ । नृत्यमा होस् या नाम मात्रको लोक गीत, पप गीतमा होस् कतिसम्म घिनलाग्दा शब्द प्रयोग गरेर सुनी नसक्नु छ । समाजले पचाउन नसक्ने खालको शब्दहरुले आज हामी नेपालीलाई दिनदिनै कमजोर मानसिक्दातिर धकिलिदैछ । समाजमा दिनदिनै यस्ता खाले विकृति बढ्नुमा कसको हात छ ? कोबाट यस्ता क्रियाकलाप भइरहेको छ ? कसको दिलदिमागबाट यस्ता खाले गतिविधि मौलाउँदैछ यसबारेमा हामीले एकछिन गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । के सबै कुरा पैसाको लागि हो त ? पैसाको लागि आफ्नो अस्त्तिव र पहिचानलाई दाउमा लगाउन मिल्छ ? एउटा गीतको छांयाकनलाई पूरा गर्न संगीतकार, गीतकार, क्यामेरा पर्सन, कलाकार सबैको भूमिका हुन्छ ।
तर आकृतिमा देखिदा त्यसमा भाग लिने कलाकारको देखिन्छ । गीत कुन दृष्टिले लेखिँदैछ । गीत कुन तरिकाले गाउँदैछ । त्यो गीतमा मौलिकपन छ कि छैन । हाम्रो पुर्खाले बचाएर राखिदिएको मौलिक संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तब्य हो कि होइन ? यस्ता गम्भीर विषयमा सम्बन्धित व्यक्तिहरु कतिपनि चिन्तित छैनन् । जसले गर्दा दिन दिनै समाजमा विकृति फैलिँदैछ । कलाकारहरु छिटो चर्चामा आउनको लागि अर्धनघ्न भएर स्टेजमा गाउनु, फिल्म छिटो चर्चामा ल्याउन उच्छृृंखल दृश्यहरु देखाएर समाजको अस्त्विलाई खलबलाउनु के यो राम्रो पक्ष हो ? यस्ता क्रियाकलापले भोलिका सन्ततीको मानसिक अवस्था कस्तो होला ? के हामीले त्यता नजर लगाएका छौं । आजको नकरात्मक गतिविधिले भोलि हाम्रा सन्ततीलाई पक्कै पनि असर पार्नेछ भन्ने विषयमा हामी किन चिन्तन मनन् गर्न सकेका छैनौ ?
त्यति मात्र होइन अझ देशको बागडोर समालेका ठूला–ठूला नेताहरु देश र जनताको सेवाकालागि सपथ खाएर पदमा बसेका हुन्छन् तर त्यही जनताले मेहेनत गरेर बगाएको रगत र पसिनाको पैसामा भष्ट्रचार गरेर दोहोरी खेल्दै भत्तेर खाने चलन छ । प्रायः सबै राजनीतिक दलहरुका साथ बाँकी छैन होला जसको साथमा डन नभएको ।
गरिब निमुखा जनताका सन्तानलाई राम्रोबाटोतिर भन्दा अगतिलो बाटोतिर लाग्न प्रोत्साहन गर्ने आफ्नो अंगरक्षकको लागि डनपालेर राख्ने र आफ्नो विरुद्धमा लेख्ने बोल्ने र काम गर्नेलाई सखापै पार्नेजस्ता कार्य यो समाजमा दिनदिनै बढ्दैछ । तर हामी मुख थुनेर बसेका छौं, हाम्रो बोल्ने मुख छ तर मुख भएर पनि बोल्न नसक्ने अवस्था देखिएको छ । के गलत र के सही ? भनेर सोच्न सक्ने दिमाग यति बेला खिया लागेको छ । यो त एउटा उदाहरण मात्र हो यस्ता थुप्रै नकरात्मक उदारहणहरु हाम्रो सामु छन् तर समाजमा भइरहेका यस्ता खाले विकृतिलाई रोक्न भने तपाई हाम्रो हिम्मत र साहस छैन ।
धर्तिमा जन्मेपछि सबैलाई बाँच्ने आशा हुन्छ चाहे गरिब किन नहोस्, चाहे जति सुकै महलमा बसेका ठूला व्यक्ति नै किन नहुन् । जन्मेपछि मर्नुपर्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरो हो तर दानवको जस्तो गतिविधि देखाएर आज दिनदाहाडै हत्या हिंसा भएका छन् । हाम्रो देशमा मात्र होइन आज अन्य देशहरुमा पनि यस्ता डरलाग्दा घटनाहरु भइरहेका छन् । यसको जिम्मा कसले लिने ? सुरक्षा प्रशासन कहाँ छ ? नाम मात्रको सुरक्षा प्रशासन हो कि साँच्चै नै जनताको सुरक्षा दिने हो ? यो बेला चिन्ताको विषय बनेको छ । यति बेला हाम्रो देशको सुरक्षा प्रशासन छाडा गाईजात्रा जस्तै भएको छ । विहान घरबाट काममा निस्केका जनताले सुरक्षाको अनुभूति गर्न पाएका छैनन् । यस्ता विभिन्न खाले डरलाग्दा घटनाहरु मौलाउँदै गएको छ । राज्यलाई कडा चुनौती छ ।
तर, चुनौतीको समाधान तिर होइन घटनालाई लुकाउने र थम्थमाउने काम भइरहेको छ । राज्य यतिसम्म निरिह किन भइरहेको छ यो तपाई हामी सबैले बुझ्नुपर्ने कुरो हो । यदि हामी साँच्चै नै नेपाली नागरिक हौं र देशलाई माया गछौं भने यस्ता घटना हुन नदिन कानुनले गर्न नसक्ने काम हामी चेतनशील मानिसले गरेर देखाउनु सक्नुपर्छ । जब मानिसको सोंचमा सकारात्मक कुराहरु आउन थाल्छ तब यस्ता खालका घटनाहरु तथा विकृतिहरु आफै रोकिएर जान्छन् । सबैभन्दा पहिला मानिसले आफ्नो आत्मा शुद्ध छ कि छैन एक पटक आफ्नो आत्मालाई साक्षी राखेर काम गर्नुपर्छ ।
मनभरि पापको पोको थुपारेर बाहिर जति नै ठूला–ठूला भाषण छाडे पनि, ठूला–ठूला यज्ञ–पूजा–दान गरेपनि हात्तीले देखाउने दाँत मात्र हो । हरेक घरपरिवारका सदस्यहरुले बुझ्न जरुरी छ । भौतिक संसारको विकास गर्नुभन्दा पहिला आफ्नो आत्मालाई शुद्ध पार्न जरुरी छ ।
हामी सबैलाई थाहा भएकै कुरो हो । आत्माले नेतृत्व र स्वरुपले अनुशरण गर्दछ । यदि हाम्रो शरीरमा आत्मा हुँदैन्थ्यो त भौतिक शरीरले मात्र काम गर्छ भनेर सोच्नु कोरा कल्पना जस्तै हो । जब मानिसको मगजले सबैलाई राम्रो देख्छ तब उसले कसैलाई पनि नराम्रो देख्दैन । खराब सोंच्नु त परको कुरा । हत्या हिंसा गर्नु त झनै टाढाको कुरा हो । तर यो संसारमा मानिसहरु यतिसम्म लोभीपापी र भष्ट्रचारी भएका छन् जसले अरुको भलाई त परै जावस् आफ्नै जन्मदिने बाबुआमाको समेत वेवास्ता गरेर हिडेका छन् ।
त्यति मात्र होइन समाजमा राष्ट्रको सपूत भनेर चिनिने केही कलाकारको छाडा गतिविधिले गर्दा नेपालीको नाकमा टिम्मुर लागे सरी भएको छ । कलाकार मात्र होइन जुनसुकै क्षेत्रमा पनि केही न केही नकरात्मक सोंच भएका भाइरसहरुले गर्दा घरपरिवार समाज र देशै गन्हाउने अवस्था सिर्जना भएको छ । यसरी लेखकले कलम चलाई राख्दा नाम नै किटान गर्नु पर्छ भन्ने होइन । आजको यो सूचनाको विश्व यति साँघुरो भएको छ, त्यसमा पनि तपाई हामी शिक्षित वर्गले सजिलै बुझ्न सक्छौं ।
संसारमा अन्तिम निर्णय आउँदैछ । रात्रि युगको अन्त्यसँगै दिवा प्रकाशीय युग सुरु हुँदैछ । त्यसैले मानिस एउटा यो संसारको सर्वश्रेष्ठ प्राणी, त्यसमा पनि चेतनशील मानव भएको हुँदा हामीले के गर्दा सबैको भलो हुन्छ । अनि यो समाज सुख शान्ति र समृद्धितर्फ लम्किन्छ त्यस्ता कुराहरुमा जोड दिन जरुरी छ । ताकि आफ्नो मात्र स्वार्थ हेरेर अघि बढ्ने मानिस अन्तिम निर्णयको घडीमा पार पाउने छैन । किनकि भगवानले त्यस्ता मानिसहरुको पापलाई पखाल्न अग्नितत्वले न्वारन गर्नु हुनेछ । हामी मानिसहरु संसारको जुनै ठाउँमा बसोबास गराैं ।
चाहे गाउँको झुपडी घरमा किन नहोस्, चाहे शहरको महलमा नै किन होस् । जुन ठाउँमा भए पनि मानव भएको धरातल कदापि भुल्नु हुँदैन । जुन दिन हामीले मानिस भएको धरातल बिर्सिने छौं, त्यो दिन आफूलाई जनावर स्वरुपमा पाउनेछौं भन्दा फरक नपर्ला । यदि साँच्चै विश्वमा शान्ति चाहने हो भने सबै मानिसमा भाइचारा र सहिष्णु हुन जरुरी छ । एकले अर्कालाई सम्मान र ईज्जत गर्नु आवश्यक छ । एकले अर्कालाई दया माया गर्नु पर्दछ ।
अपराधिलाई कानुनी कडघरामा उभ्याउनुभन्दा पहिला उसलाई अपराधी हुनबाट बचाउनु नै मानवीय धर्म हो । आफ्नो इच्छा, चाहना र स्वार्थ पूरागर्नु अघि मेरो साथमा मेरो परिवार, समाज र देशको नाम जोडिएको छ भनेर कदापि बिर्सिनु हुँदैन । किनकि जवानीको जोश छ भन्दैमा होश गुमाउनु हुँदैन । यदि होश गुमाइन्छ भने त्यसको नतिजा राम्रो हुँदैन । त्यसले एकदिन कुकर्मको फल भोग्नैपर्छ । त्यो भनेको अन्तिम निर्णय हो जुन निर्णय आफूले गरेको पाप पखाल्न अग्नितत्वले न्वारन गरिनेछ ।
Comments