विचार

दण्डहिनताको चरमोत्कर्ष, भूकम्पपीडितको नाममा ब्रम्हलुट

- शैलेश श्रेष्ठ
यो दुनियामा नेपालको कांग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति एउटा यस्तो संस्था हो जसले कुहेको आलुलाई भकारीबाट फाल्दैन बरु थप कुहेका आलुहरुलाई भकारीमा हालेर कुहेको आलुहरुको डुंगडुगी गन्धलाई बासना ठानेर रमाउँछ । वर्षौंदेखि तिनको घ्राण शक्तिलाई त्यस्तै गन्ध सुघेर रमाउने बानी परिसकेको छ ।
अमेरिकी प्रवासी नेपाली समाजमा हामीले कुहेको आलु भनेर स–प्रमाण पहिचान गरेको कैयन सडेको अनि कुहेको आलुलाई नेपाली जनसम्पर्क समितिका हर्ताकर्ता र कांग्रेसीहरुले बचाएर पुनः भकारीमै स–सम्मान भित्राएका छन् । सहगोत्रीय बैचारिक निकटता यिनीहरुको कार्यसम्पादन र सम्बन्धको मूल आधार हुन्छ । मैले तिनका बारेमा सप्रमाण बोल्दा अथवा लेख्दा संसारभर छरिएर रहेका कांग्रेसीहरुले मेरा बिरुद्धमा धावा बोल्ने गरेका छन् । संसारको प्राय जसो सबै सम्मुन्नत लोकतान्त्रिक संस्कार भएको मुलुकमा प्रमाणिक कुहेका आलुहरु अथवा नैतिकरुपले स्खलित अनि भ्रष्ट्रहरुसँग पार्टी आफैले सम्बन्ध बिच्छेद गर्छ अथवा कुहेका आलुलाई छानी छानी भकारीबाट फाल्ने काम गर्छ । तर तिनको माउ पार्टी र भातृ संगठन दुवैलाई त्यस्तो दण्डहिनता मन पर्छ अनि तिनै कुहेको आलुको गन्ध बासना आउँछ ।
त्यस्ता थुप्रै अनुकरणीय उदाहरणहरु हामीले बाँचेको यो कर्म क्षेत्र अमेरिकामै प्रसस्त छन् । खोई हिजो अमेरिकी राष्ट्रपतिको आकांक्षी बनेका जोन एडवार्ड डेमोक्रेटिक पार्टीमा अहिले कहाँ छन् ? पूर्वराष्ट्रपति एल गोरको हालत अनि हविगत कस्तो छ ? कहाँ पुगे दुरगामी राजनैतिक भविष्य भएको भनिएका अनि मानिएका न्यूयोर्क राज्यका तात्कालिक गभर्नर एलियट स्पित्जरको राजनैतिक अनि पार्टीगत हैसियत ? अनि कसरी अमेरिकी मौजुदा कानुनले १२ वर्षको जेल सजाय तोक्यो न्युयोर्क एसेम्बलीमा तीन दशक एकछत्र राज गरेका अर्का डेमोक्रेट्स शेल्डन सिल्भरलाई ? आफुले पाएको गाडीको सुविधालाई आफ्नी श्रीमतिलाई उपलब्ध गराएको सानो कसुरमा किन १४ महिनाको जेल सजाय भोग्नु प¥यो न्युयोर्क राज्यकै कम्पट्रोलर आलान हेभेसीले ? तर कांग्रेस अनि तिनको भातृ संगठनका हर्ताकर्ता अनि कार्यकर्ताहरुको कुरा नै अर्कै छ । तैं चुप मै चुपकै पुरानै कांग्रेसी शैली र ‘मिलिजुली जय नेपाल’ को नारामा ‘काले काले मिलेर खाउँ भाले’ निरन्तर चल्छ यो अमेरिकामा पनि ।
भूकम्प व्यापारमा अब यिनका मान्छेहरुको कुकृत्य र कुकर्महरु अहिले सप्रमाण अमेरिकाको बजारमा बिस्कुन लागेको छ अनि सामाजिक संजाल रंगिएको छ । तर यिनका मान्छे र यिनीहरुलाई खासै अच्चम्म लागेको छैन, मानौं यस्तो कर्म त यिनीहरुबाट देश अनि समाजमा भईनै रहेको हो, यिनीहरुलाई लाग्छ यो मात्र नियमित आकस्मिकता हो । दुःखको कमाई र परिवारको पेट काटेर आम मानिसले दिएको चन्दा रकम अनि भूकम्प ब्यापारको स्किममा व्यक्ति अनि संस्थाबाट उठाएको रकम अहिले नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुले अपचलन गरेको घटना सप्रमाण बाहिर आएको छ । बिना प्रक्रिया, पद्धति अनि निगरानी भूकम्पपिडितलाई उपलब्ध गराउने भन्दै बीसौं हजार डलर नगद लिएर यो संगठनका हर्ताकर्ताहरु नेपाल गए देखिनै प्रवासी नेपाली समाज र संचारले यिनीहरुमाथि कडा पहरेदारी अनि निगरानी गरेका थिए । अहिले आएर आन्तरिक विवाद अनि खिचातानीको नाममा ‘काले काले मिलेर खाउँ भाले’ को भाकामा लुट गर्ने कालेहरु बीच भालेकै निहुँमा एकले अर्कालाई सक्ने नयाँ खेलको दोश्रो भाग भर्खर मञ्चन भएको छ ।
आरोप प्रत्यारोपकै क्रममा अहिले नेपाली जनसम्पर्क समितिका महासचिव र कोषाध्यक्ष मिलेर अध्यक्षलाई जानकारी नै नदिई ४५ हजार नौ सय अमेरिकी डलर बैंक अफ अमेरिकाबाट निकालिएको कुरा अध्यक्षले सार्वजनिक गरेका छन् भने अध्यक्षले बिना जानकारी ५ हजार अमेरिकी डलर अपचलन गरेको आरोप प्रतिपक्षीहरुको रहेको छ । अध्यक्षले कन्फेरेन्स कलद्वारा केन्द्रीय समितिको बैठक बोलाएर यी प्रमाणहरु सार्वजनिक गर्नुले अब उनले तैं चुप मै चुपको पुरातानिक कांग्रेसी पारामा होइन मौजुदा अमेरिकी कानुन अन्तर्गत निवारण अनि समाधान खोजेको प्रष्ट बुझिन्छ । यो फेहरिस्त सप्रमाण बाहिर आएपछि अब काले कालेलाई मिलाएर नयाँ भाले खाने अनि ख्वाउने पुरानो कांग्रेसी दाऊ र जुक्तिको पनि अन्त्य हुने झिनो सम्भावना बढेको छ तर पनि नेपाली कांग्रेस अनि नेपाली जनसम्पर्क समितिको दण्डहिनता अनि लुटतन्त्रलाई नजिकबाट बुझेकाहरुले अझै पनि ‘माथीको आदेश’ बाट थामथाम थुमथुम पारिने सम्भावना औंल्याएका छन् । उनीहरुलाई नजिकबाट बुझेका बैचारिकरुपले नेपाली कांग्रेस समर्थक भएको सगर्व घोषणा गर्ने राजनैतिक विश्लेषक विद्वान अङ्गराज तिमिल्सिनाले दुई हप्ता पहिले यस्तो अर्थपूर्ण लाईन लेखेका छनः ‘कुरो दुबै थरीको सुनिनु पर्छ र छानबिन निष्पक्ष हुनु पर्छ तर अमेरिकामा कुनै संस्थाको पैसा अध्यक्ष वा कार्यसमितिको जानकारी बिना बैंकको पैसा झिकेर सिरानीमुनी लुकाउने काम कि ड्रग बेच्नेले कि कालाबजारीयाले गर्ने गर्छन् जो आफैमा गैरकानूनी (मनी लन्डरीङ) हो ।
चिन्ता छानबिन भन्दा पनि तै चुप मै चुपमा सबै टुङ्गिन्छ कि भन्ने हो । कांग्रेसमा माथिको आदेशबाट अक्सर यस्तै हुन्छ ।’
सुन्दा मानिसलाई अचम्म लाग्ला, स्थापनाकाल देखिनै बेथितिमा चलेको नेपाली जनसम्पर्क समितिभित्र अनुशासन विभाग पनि छ तर त्यसको कुनै अर्थ छैन । नाङ्गै हिड्ने बानी परेकाहरुलाई बस्त्रको अर्थ अनि महत्व केहि पनि हुँदैन । अझ त्यो भन्दा पर गएर अहिले अमृत भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि गठन भएको छ । तर एक समुहले अर्को समुहलाई निष्काशन अनि अपदस्त गरेको स्वघोषणा गर्ने अनुसाशनहिनताको साम्राज्य भएको यो भीडमा त्यसको पनि कुनै अर्थ छैन ।   
अमेरिकी प्रवासी नेपाली समाजमा स्थापनाकालदेखि फुट, गुट, वैमनस्यता अनि आपसी द्वेषको बिजारोपण गर्ने गरेको आरोप खपेको कांग्रेसी भातृ संगठन नेपाली जनसम्पर्क समिति यो आर्थिक हिनामिना अनि ठगी प्रकरण पछि बद्नाम मात्र भएको छैन अब उठ्नै नसक्ने गरि थलिएको छ भने प्रवासमा बसेर पार्टी र तिनको नेताहरुको पालनपोषणमा लागेका कार्यकर्ताहरु समाजको सामना नै गर्न नसक्ने अवस्थामा पुगेको छ । ‘अव जेभो भैगो मिलेर जाम’ अनि ‘मिलेरै खाम’ को नेपालीपाराको पुरानो उपाय अब चल्ने स्थिति छैन । अब ढिलो चाँडो यो भूकम्पव्यापार अनि लुट अमेरिकी मौजुदा नियम अनि कानुनको मातहतमा छानविनको चरणमा जानेछ । अब यत्रो अपराधिक प्रमाण र फेहरिस्त बाहिर आईसकेपछि यसको निदान अनि निवारण पनि मौजुदा अमेरिकी कानुनी हैसियतकै हुनुपर्छ भन्ने नयाँ खाले माग अनि सोंचाई अमेरिकी प्रवासी नेपाली समाजमा ढिलै भए पनि जागृत भएको छ । एकले अर्कोलाई सिध्याउने अभिष्ट र नियतले बाहिर आएको यो प्रमाणिक लुटको नयाँ अध्यायले अब यहि ब्यापार अन्तर्गत भूकम्पपिडित दीनदुःखीहरुको आँशु, पीडा अनि कथा बेचेर आफ्नो संगठन र बैंक खातामा डलर जम्मा गरेर राखेकाहरु र नेपाल पुगेर आआफ्नो अनुकुलमा ‘उल्फाको धन फुपूको श्राद्ध’ गरेर फर्केकाहरुका विरुद्ध पनि समाज अनि नियम कानुनले कडाईका साथ छानविन गर्नेछ । नेपाली जनसम्पर्क समितिको यो स्वेत लुट अहिले बाहिर आएको प्रमाणिक फेहरिस्त मात्र हो । अव यहि मियो अनि मेसोबाट बाँकी सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक अनि राजनैतिक संघसंगठन र व्यक्तिगत हैसियतमा उठाईएका रकमहरुको हिसाब किताब पनि हामीले खोज्नु पर्दछ ।
अव अमेरिकामा दण्डहिनता र लुटको साम्राज्य धेरै दिन टिक्दैन ।
Email: info@sampreshan.org