कला-साहित्य

जापानमा नेपालीलाई राजुले नचाउँदै

काठमाडौ । फुकुओका जापानमा भएका प्रवासी नेपालीहरुलाई निकै समयपछि राजु लामाले नचाउने भएका छन् । करिब तीन वर्षपछि साङ्गीतिक क्षेत्रमा फर्कन लागेको लामालाई जापानसम्मको यात्राका लागि तमु घिं क्यूसु जापानले साथ दिने भएको छ । तमु घिं क्यूसु जापानको आयोजनामा यहि जुलाई १५ तारिखमा फुकुओकामा हुने ‘Exclusive summer night' साङ्गीतिक कार्यक्रममा राजु लामाले लाईभ ब्याण्ड प्रस्तुति दिने पक्कापक्की भएको आयोजक संस्थाका अध्यक्ष भीम गुरुङले जानकारी दिनुभयो ।

नेपाली साङ्गीतिक क्षेत्रमा ‘मङ्गोलियन हर्ट’ ब्याण्डबाट चर्चा बटुल्ल सफल लामा पछिल्लो समय अमेरिका बसाई सरेपछि साङ्गीतिक क्षेत्रबाट गुमनाम जस्तै भएका थिए । उनले गाएका कर्णप्रिय गीत अझैं पनि नेपाली दर्शक स्रोता माझ ताजै छ । तिमीलाई देखेर...., नतानु त तानु लाग्ने......., ला’को माया लाईन नभन...., हल्ला चलेछ राजै....., पर्खाइमा भिज्यो सिरानी....., बादल पारीको देशबाट...., ओई नाना, मेरो नेपाल..... जस्ता चर्चित गीत नेपाली साङ्गीतिक बजारमा पस्कन सफल राजु लामाले तिनै गीतसँगै फुकुओकामा रहेका प्रवासी नेपाली रम्ने भएका छन्  ।  

आयोजकले फुकुओकामा रहेका प्रवासी नेपाली नचाउन, साङ्गीतिक माहोल बनाउन र कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराखेको अध्यक्ष गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो – ‘नेपाली कलाकारलाई विदेश गरिने कार्यक्रममा नेपाली दर्शकले निकै माया र सद्भाव दिने भएकाले यस पटकको यो साङ्गीतिक कार्यक्रमलाई विगतको भन्दा पृथक र राम्रो बनाउन लागि परेका छौं ।’