विश्व

उत्तर कोरियाका ६० हजार बालबालिका भोकै

काेरिया, १९ माघ । बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था, यूनिसेफले गरेको एक सर्वेक्षणमा देखिएअनुसार यसवर्ष उत्तर कोरियाका करिब ६० हजार बालबालिका भोकै हुने बताइएको छ । लगातारको अन्तर्राष्ट्रिय प्रतिबन्धपछि दैनिक उपभोग्य सामग्रीका साथै उत्तर कोरियामा खाद्यान्नको पनि अभाव भइरहेको यूनिसेफले बताएको छ ।
उत्तर कोरियाको मिसाइल परीक्षण र आणविक हतियार निर्माणका कारण लामो समयदेखि संयुक्त राष्ट्रसंघ लगायत विश्वका धेरै देशहरुले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएका छन् ।
गत हप्ता मात्रै अमेरिकाले ६ विषयमा थप नयाँ प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । यसबारेमा यूनिसेफका कार्यकारी निर्देशकले प्रतिबन्धका कारण मानवीय वस्तुहरुको अभाव अहिलेदेखि नै बढ्दै गएकाले भविष्यमा यसले भोकमरीको समस्या निम्त्याउने सम्बन्धि चेतावनी दिएका हुन् ।
त्यसकारण वर्षभरको प्रतिबन्धका प्रभावले मात्र ६० हजार बालबालिकाहरु कूपोषित हुने खतरा रहेको बताइएको हो । प्रोटिन र क्यालोरीको कमीका कारण हुने कूपोषणले अन्त्यमा ज्यान समेत लिन सक्ने बताउँदै यूनिसेफका निर्देशक म्यानुअल फन्टेनले चिन्ता व्यक्त गरेका हुन् ।
राजनीतिक एवम् कूटनीतिक अवस्थामा कुनै सुधार नआएकाले दिनप्रति दिन उत्तर कोरियाको स्थिति भयानक हुँदै जाँदा अवस्था चिन्ताजनक रहेको उनले बताए ।
यसका साथै खानपिनमा सरसफाइको कमीका कारण प्राय सबै बालबालिका झाडापखालाको शिकार बन्ने हुँदा त्यहाँका ससाना बच्चाहरुको मृत्युदर बढ्दै गएको यूनिसेफले बताएको छ ।
यूनिसेफले यसवर्ष उत्तर कोरियाको सहायता गर्न पोषणयुक्त खाना, स्वास्थ्य सेवा र खानेपानीका लागि मात्र १६ मिलियन डलर सहायताको माग गरेको छ । तर प्रतिबन्ध र अन्य राजनीतिक कारणवश् उत्तर कोरियामा यस्ता सहयोगका कार्यक्रमहरु संचालन गर्न धेरै कठिन हुने देखिएको बताइएको छ ।
केबल मानव जीवन बचाउने उद्देश्यले चलाइएको अभियान अन्र्तगत यूनिसेफले सो कार्यक्रम र सहयोग जुटाएको यूनिसेफका निर्देशक फन्टेनले बताए । १९९० सालमा उत्तर कोरियामा खडेरीका कारण मात्र तीस लाखको ज्यान गएकाले त्यस समयदेखि यूनिसेफले उत्तर कोरियालाई सहयोग प्रदान गर्दै आएको छ । उत्तर कोरियासँग सम्पर्क राख्ने कम संस्थाहरुमध्ये यूनिसेफ पनि एक हो ।