विश्व

पहिरोले चिलीको गाउँ पुरियो, ५ जनाको मृत्यु १५ बेपत्ता

चिली, २ पुस । चिलीमा पहिरोका कारण एक गाउँमा ठूलो क्षति पुगेको छ भने कम्तिमा पाँचजनाको ज्यान गएको छ । मुसलधारे वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षिणी क्षेत्रमा रहेको पर्यटकीय गाउँका जर्दनौं घरमा क्षति पुगेको हो । 
लेक क्षेत्रको ग्रामीण बस्ती भिल्ला सान्ता लुसियामा पहिरोका कारण दर्जनौँ घर पुरिएको जनाइएको छ । यस्तै १५ जना मानिस बेपत्ता भएका छन् । चिलीका राष्ट्रपति मिशेल बाचेलेतले पहिरो प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्नुभएको छ । 
लेक क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ भने सडकसञ्जाल पनि टुटेको छ । उद्धार तथा राहतको कामलाई तीब्र र प्रभावकारी बनाउन आदेश दिएको राष्ट्रपति बाचेलेतले बताउनुभएको छ । चिलीको राजधानी सान्टियागोबाट ११ सय किलोमिटर दक्षिणमा रहेको गाउँमा पहिरोले नोक्सानी गरेको हो । लगातारको वर्षसँगै पहाडबाट लेदोसहितको पहिरो गएको हो । गएको २४ घण्टा भन्दा लामो समयदेखि त्यस क्षेत्रमा मुसलधारे पानी परिरहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
गाउँका केही मानिसलाई हेलिकप्टर मार्फत उद्धार गरी नजिकको बजार चाइटेन लगिएको छ । अहिले पनि उद्धार तथा हराएकाको खोजी भइरहेको छ । कोर्कोवाडो राष्ट्रिय निकुञ्ज नजिक रहेको गाउँ पर्यतकीय गन्तव्यको रुपमा रहँदै आएको छ ।