विश्व

विशाल मिसाइल प्रदर्शन गर्दै गरेको किमको यो तस्बिर चर्चामा

कोरिया, १७ मंसिर । विश्वका थोरै देश मात्र ठूल्ठूला मिसाइलको निर्माण गर्न सफल भएका छन् जसमध्ये अहिले उत्तर कोरिया पनि परेको छ । लगातार आफ्नो आणविक मिसाइलका कारण विश्वबाट आलोचित भइरहेका बेला उत्तर कोरियाले सार्वजनिक गरेको अर्को तस्बिर पनि यतिबेला चर्चामा आएको छ । 
उक्त तस्बिरमा प्रदर्शन गरिएको मिसाइलले भन्दा पनि सँगै उभिरहेका किमले धेरै प्रतिक्रिया पाइरहेका छन् । अमेरिकादेखि लन्डनसम्म प्रहार गर्न सक्षम बताइएको मिसाइललाई नियालिरहेका किम त्यसका सामू अत्यन्तै सानो देखिएका छन् । यसैकारण ठूल्ठूला मिसाइल बनाउदै गर्दा किम आफू चाहिँ झन्झन् होचो र मोटो हुँदै गएको भन्ने प्रतिक्रिया आइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उता उत्तर कोरियाका हालका गतिविधि हेरेर त्यति ठूला मिसाइलको तस्बिर बाहिरिएपछि यसले अमेरिकालाई भने धेरै तनाव दिइरहेको छ । यसैबारे अनुसन्धानकर्ताहरुले समेत आकार हेरेर यसको अत्याधिक क्षमताको अड्कल लगाइरहेका छन् । 
विश्वमा यस्ता ठूला मिसाइल निर्माण गर्न सकेका देशहरु अत्यन्तै कम रहेका बेला अनेकौँ प्रतिबन्ध र समस्याका बीच पनि किमले कसरी यसको सफल परीक्षण गरे भन्ने कुरा धेरै मानिसहरुका लागि अचम्मको विषय बनेको छ । अमेरिका जस्तो विश्वकै शक्तिशाली देशका विरुद्ध निडर भएर चेतावनी दिइरहेका किम तस्बिरमा सानो देखिएपनि उनले आफूले भनेका सबै वचनहरु एकएक गर्दै पूरा गरिरहेका छन् ।