विश्व

ब्रिक्स सम्मेलनमा भाग लिन मोदी चीन जाँदै

भारत, १८ भदौ (एजेन्सी)– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले आइतबार आफ्नो मन्त्रिमण्डल पुनर्गठन गर्नुका साथै ब्रिक्स सम्मेलनमा भाग लिनका लागि आइतबार चीनतर्फ जाने भएका छन् । डोक्लाम विवाद तत्कालका लागि समाधान भएको ६ दिनपछि मोदी चीनको भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा उनले ३ देखि ५ सेप्टेम्बरसम्म चीनको शियामेन सहरमा हुने ब्रिक्स देशहरूको नवौं सम्मेलनमा भाग लिनेछन् ।

ब्रिक्स पाँच विकासशील देशहरूको समूह हो । यस समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन् । यो समूहले २००९ देखि निरन्तर रूपमा ब्रिक्स सम्मेलन गर्दै आएको छ । विश्वको २६ प्रतिशत भूमि र ४२ प्रतिशत जनसंख्या ब्रिक्स देशहरूले ओगटेका छन् । विश्वको कूल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत अंश यिनै देशहरूको रहेको छ ।   

यस भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिनपिंगसँग हुने मोदीको भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ । यद्यपि यी दुई नेताबीच द्विपक्षीय वार्ता हुन्छ कि हुँदैन भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन । डोक्लाम विवाद कायम रह्यो भने त्यसको असर ब्रिक्स सम्मेलनमा पर्ने आशंका चीनमा व्याप्त थियो । त्यसैले चीन डोक्लामबाट आफ्ना सेना फिर्ता गर्न सहमत भएको हो भन्ने आम बुझाइ छ । विश्लेषकहरू ब्रिक्स सम्मेलनपछि यी दुई देशबीच पुनः संघर्ष सुरु हुन सक्ने आशंका व्यक्त गर्छन् ।