कला-साहित्य

एउटा प्रेम कविता

घाम पानीको मारुनी तालमा
देउरालीको काँधमा बुइ चढेर
रुझ्दै भिज्दै नाँचिरहेको
बैसालु इन्द्रेणी जस्तो,
भर्खर झरीले
पात पत्र माथिको खैरो धुलो धोइदिएर 
सुकिलो भएको
बाटो छेउको गुलाबको झ्याङ्ग
झरी पछिको चिसो बताससँग
मस्किए जस्तो,
बर्सौ अघी मुग्लान पसेको 
आफ्नो खसमको सम्झनामा
टोलाइरहेकी उदास युवती
एक्कासी खसमनै आएर
सुटुक्क चुल्ठी तानिदिँदा 
झस्किए जस्तो,
असारमा लामो खडेरीपछी 
झरी पर्दा
किसानको अनुहारमा दौडिरहेको
खुसीको गुलावी रङ जस्तो,
फेल हुने अपेक्षामा
नतिजा कुरिरहेको परीक्षार्थी
प्रथम श्रेणीमा उतीर्ण भए जस्तो,
तिमी मेरो छेउ आउँदा
यस्तो लाग्छ पृय
झन्डै भुलिसकेको 
एक आदिम सपना
एक्कासी बिपना भएर
झुल्किए जस्तो ।।

बिस्नु प्रवा सापकोटा
दमेक–१,बागलुङ