विचार

किन आफनै खुट्टामा बन्चरो हान्दैछौं हामी ?

शैलेश श्रेष्ठ/न्युजर्जी

हिलारी क्लिन्टनलाई जिताउँ भन्नु र डोनाल्ड ट्रम्पलाई हराऔं भन्नु बिचमा के तात्विक अन्तर हुनसक्छ ? यसो सुन्दा अनि हेर्दा उस्तै उस्तै जस्तो लाग्छ हिलारी क्लिन्टनले जितेपछि मात्र डोनाल्ड ट्रम्प हार्छ अथवा ट्रम्पलाई हराए पछि मात्र क्लिन्टनले जित्छिन | चुनाब भनेको सर्वथा सत्य अनि निष्ठाको पक्षपोषण गर्नु मात्र होइन बरु भयावह त्राषदबाट आम मानिसलाई मानसिक मुक्ति दिनु पनि हो | मानसिक मनोदशा अनि अनपेक्षित त्राषद नहुनुको आम पिडा भन्दा पनि भयावह हुने गर्दछ | यथास्थितिबादकै सेरोफेरोमा क्लिन्टन बिरासतको भाग्यमानी प्रतिनिधि पात्र बनेकी हिलारी रोधाम क्लिन्टनको जबर्जस्त उज्यालो पक्ष भन्दा अनुदारबादी रंगभेदी स्वेत साम्राज्यका परिकल्पनाकार डोनाल्ड ट्रम्पको निष्पट्ट, निस्तब्ध, सन्नाटामय कालरात्रीको बैचारिक परिकल्पना आम अमेरिकी उदार मुल्य अनि मान्यता बोकेका मानिस मात्रका लागि नयाँ "ग्याँस च्याम्बर" हुन | जहाँ एक्काईसौं शताब्दीको "वन लभ, वन वोर्ल्ड" को स्वाधिन, उन्मुक्त अनि उदात्त परिकल्पनाको असामयिक देहावसान हुन्छ | 

वर्ण, जाती, बर्ग, लिङ्ग, भूगोल, धर्म अनि कति हदसम्म कर्मको आधारमा मानिसले दण्डित हुनुपर्ने दिन आउनेछ | वन नेशन अन्डर दी गड भन्दै "गन" र "गड" को सहाराले परम्पराबादी शैलीमा राज्य संचालन भएको संयुक्त राज्य अमेरिकामा नयाँ वर्ग, वर्ण अनि जातीको सिर्जना हुनेछ अनि तिनलाई छानीछानी दण्डित गरिनेछ | सुदूर दक्षिणमा मात्र होइन अमेरिका भरी बिस्तार नयाँ जीम क्रोको पुनर्जन्म हुनेछ अनि बहुलवादी अमेरिकी राज्य प्रणालीमा म्याकर्थीको पुनारावृत्ति हुनेछ | रंग, वर्ण, धर्म अनि शारीरिक स्वरुपमा उनीहरु जस्तै नदेखिने अनि नलाग्नेहरु अठारौं शताब्दीमा झैँ लखेटिने छन | यी अनि यस्तै तानाबाना बिच अहिले स्वेत अतिवादी अनुदार वस्ती र फाँटहरुमा "मेक अमेरिका ग्रेट अगेन" को नमौलाउने खेतीको आरम्भ भएको छ | 
देख्न सकिने हरेक सपनाहरु पुरा हुने सम्भावनाको देश भनेर जानिने अमेरिकामा अहिले हामी पहिलो पुस्ताकारुपमा त्यहि सम्भावनाको खोजीमा छौं तर आफ्ना अनि पराई छुट्याउने कुरामा भने कहीं कतै चुकेका छौं | आफुले चाहेको अथवा आफुलाई मनपरेको उम्मेदवारको पक्षपोषण गर्नु अनि उनलाई मत दिनु हरेक मानिसको स्वाधिन अनि नैसर्गिक अधिकार हो तर हामी परिस्थिति अनि भू-राजनीतिको सुक्ष्म र यथार्थपरक विश्लेषण गरेर अभिमत बनाउन भने पछि परेका छौं | हामी सतही आवेग, भावावेश अनि उत्तेजनामा यताको अथवा उताको बन्ने गर्छौं | तिमी हिलारी हिलारी भनेर खुब कुर्लिएका छौ लुजा त्यसो भए "म चाँही डोनाल्ड ट्रम्प समर्थक" भनेर फेसबुकको भित्तामा आवेश, आक्रोश अनि बदला सम्प्रेषण गर्छौं | त्यसो भनि रहँदा तपाई हामीलाई अत्तोपत्तो हुँदैन अनुदारबादी दक्षिणपन्थी ट्रम्प र उनका स्वेत साम्राज्यमा निर्लिप्त रमाएका तिनका समर्थकहरु उनीहरु जस्तो नदेखिने अनि अलिक फरक किसिमले बोल्ने अनि अर्कै धर्म मान्ने हामी आम प्रवासीको तिन पुस्तालाई देश निकाला गर्न चाहन्छ | म पट्टक्कै बुझ्दिन, किन आफ्नै खुट्टामा बन्चरो हान्दैछौं हामी?
घरदेश त हामीले आफुले सोंचेको जस्तो भएन यो परदेश हरेक अर्थ अनि परिभाषामा कठिन अनि जटिल छ | हामी सबै सकेसम्म कानुनी हैसियत राखेर प्रगती, समृध्दी अनि उन्नती गर्न चाहन्छौं | त्यसका लागि सबैले पन्द्रको बीस अथवा उन्नाईसको बीस गरकै छौं | कोही डीभी चिट्ठा परेर कोहि काममा आधारित अनुमती पत्र लिएर कोहि कति बिशेष सिप अनि कौशल प्रदर्शन गरेर अनि कोहि शरणार्थीको कोटाबाट कागजपत्र सहित आप्रवासीको हैसियतमा छौं | सारा दुनियालाई थाहा छ, अमेरिकी राजनीतिमा आप्रवासन बिषय देमिक्रेट्सहरुका लागि प्रत्येक निर्वाचनको बेला मागी खाने भाँडो बनेको छ भने रिपब्लिकनको लागि श्रमजीवी आप्रवासीहरुलाई तर्साएर खाने बहाना बनेको छ | डेमोक्रेटिक र अझ बिशेष गरेर उदार अनि प्रगतिशीलहरु संग आप्रवासीहरुको पुरानो परम्परागत सम्बन्ध छ त्यसकै आधारमा हामी डेमोक्रेटिक पार्टीको निकट बन्ने गरेका छौं | त्यसको अर्थ सबै डेमोक्रेट्सहरु हाम्रा शुभचिन्तक अनि मित्रहरु हुन भनेर पनि हामीले बुझ्नु हुँदैन | राष्ट्रपति जर्ज बुसको कार्यकालमा आप्रवासी सुधार बिधेयकमा मतदान हुँदा रेड स्टेट भनेर जानिने रिपब्लिकनहरुको पहुँच भएको राज्यबाट जितेका डेमोक्रेट्सहरुले उक्त बिधेयकलाई समर्थन नगरेको कारण उक्त बिधेयक पास भएन |
तर यसपालीको राष्ट्रपतीय निर्वाचनमा दुईटा बैचारिक कित्ता स्पष्टरुपले छुट्टिएको छ | ट्रम्प अहिले अमेरिकामा रहेको भनिएको एघार मिलियन कागतपत्र नभएका आप्रवासीहरुलाई देश निकाला गरेर दक्षिणी सिमानामा पर्खाल लगाउन चाहन्छ भने क्लिन्टन मानब निर्मित पर्खाल लगाउने कुराको विपक्षमा मात्र छैनन अमेरिकामा रहेका सबै आप्रवासीहरुलाई बैधानिकता दिने पक्षमा छिन | एघार मिलियनको मात्र होइन ट्रम्पले दुई कार्यकाल पुरा गर्न लागेका हाम्रा राष्ट्रपति बराक ओबामालाई समेत अमेरिकी नागरिक होइन भनेर निरन्तर भन्ने गरेका छन | उनि बर्थर मुभमेन्टका प्रणेता पनि हुन, उनीहरु बाई बर्थ सिटिजनशिपको संबैधानिक व्याख्या अनि ब्यबस्थालाई समेत परिवर्तन गर्न चाहन्छन | यति कथंकदाचित त्यस्तो अनुदार ब्यबस्था कायम भयो भने जन्मको आधारमा अमेरिकी नागरिकता पाएका करिब चार मिलियन अमेरिकीले अमेरिका छाड्नु पर्ने हुन्छ | 
शरणार्थीको कोटा अनि प्राबधानबाट कानुनी मान्यता पाएकाहरुको आवेदन माथि पुनः अनुसन्धान गर्दै राष्ट्रिय सुरक्षामा आंच आउने देखिएमा उनीहरुलाई पनि देश निकाला गर्न सकिने ब्यबस्थाका लागि उनीहरु तयार भएका छन | होम ग्रोन आतंकबादको मूल कारण उनीहरु शरणार्थी कोटा अनि प्रणालीको उदारतालाई ठान्दछन | त्यस अर्थमा पनि हामी जानी नजानी आफ्नै खुट्टामा बन्चरो हान्दैछौं | रिपब्लिकनहरु आप्रवासन अनि आप्रवासी प्रति जहिल्यै पनि कठोर अनि अनुदार बन्ने गरेका छन अब कथंकदाचित संस्थापनमा उनीहरुको पहुँच अनि हालीमुहाली कायम भयो भने अहिले उदार ओबामा प्रशासनले उपलब्ध गराएको शरणार्थी आवेदकलाई दिन लागिएको दुई बर्षको काम गर्ने अनुमती पत्र, सबै खाले आप्रवासनमा अपनाईएको उदार सोंच अनि टीपीएस जस्ता परोपकारी अनि मानवीय सुबिधा आदी ईत्यादीको सम्पूर्ण कटौती हुने पक्का छ | दक्षिणपन्थी अनुदारवादी रिपब्लिकन पार्टी अनि तिनका नेताहरु बन्दुक अनि औषधीमा आधारित अनि आश्रित राजनीति गर्छन | सानो सरकार अनि कम विनियमको बहाना अनि चाहनामा यिनीहरु ति ब्यापारी अनि नाफाखोरहरुबाट डोनेशन लिन्छन अनि उनीहरुको स्वर्थको पूर्ति गर्ने बिधेयक, नियम अनि कानुन हरु बनाउछन | भन्नलाई प्रो-लाईफको धार्मिक आस्थायुक्त चिल्ला चिप्ला कुरा गरेपनि यी युध्दउन्मादी रिपब्लिकनहरु अमेरिकालाई पुरानै साम्राज्यबादी हेजेमिनिक अमेरिकी छबीमा पुनाराबृत्त गराउन चाहन्छन | 
डोनाल्ड ट्रम्प एक्काईसौं शताब्दीको स्वाधिन महिला माथि धर्मको नाममा नियन्त्रण गर्न चाहन्छ त्यसरी नै विचार, आस्था अनि धर्म माथी निगरानी मात्र होइन नियन्त्रण नै गर्न चाहन्छ | उ आफु आयकर तिर्दैन तर श्रम गरेर २३ देखि २७ प्रतिशत आयकर तिरेर अमेरिकी मौजुदा कानुनको सम्मान गरेर बसेकाहरुलाई देश निकाला गर्ने धम्कीको भाषा बोल्छन तर यति बुझेर पनि हाम्रा मान्छे ट्रम्प-ट्रम्प भन्दै आफ्नो बैचारिक अनि स्वाधिन अभिमत होइन इर्श्या, द्वेष, बदला अनि घृणा बोल्दैछन | शब्दको अर्थ अनि तिनको भित्री आसय नै नबुझी "मेक अमेरिका ग्रेट अगेन" को स्वेत साम्राज्यबादी परिकल्पना अनि अहमलाई अनुमोदन गरिरहेका छन | 
यी र यस्तै कारणले हरेक उदार, स्वाधिन, सचेत अनि शिक्षित मानिसले यो स्वेत साम्राज्यको युध्दउन्मादी परिकल्पनालाई बुझ्दै अनि चिर्दै उदारबाद तर्फ निरन्तर उन्मुख अमेरिकालाई "स्ट्रंग टुगेदर" को बहुआयमिक सोंचमा अगाडी लैजानु पर्छ | अब रोज्ने अनि खोज्ने पालो अनि जिम्मेवारी हाम्रै हो "युध्द" कि "शान्ति" अनि बहुआयमिक उदारवाद कि स्वेत नियन्त्रित एकाधिकारबाद? 
यी र यस्तै कारणले हिलारी क्लिन्टनलाई जिताउन भन्दा पनि अतिवादी युध्द उन्मादी डोनाल्ड ट्रम्पलाई हराउनु हरेक स्वाधिन मानिसको अहम जिम्मेवारी हो | तात्कालिक समयमा हाम्रा त्यागी नेता गणेश मान सिंहले खोई कुन प्रसंगमा हो नेपाली जनतालाई "गु" र "गोबर" छुट्याउन नसक्ने भनेर भन्नु भएको थियो तर एक्काईसौं शताब्दीका प्रवासी नेपाली अमेरिकीहरु "गु" र "गोबर" मात्र होइन "हिलारी क्लिन्टन" र "डोनाल्ड ट्रम्प" बिचको बिकराल अन्तर पनि छुट्याउन सक्ने भईसकेका छन | 

info@sampreshan.org